वाम एकतापछि सरकारको भविष्य के हुन्छ ?

काठमाण्डौं, असोज १८ ।
सत्ताको प्रमुख सहयोगी माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेलदेखि पार्टी एकता गर्नेसम्मको सहमति गरेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्यबारे विभिन्न अड्कलबाजी हुन थालेका छन् । तर, अहिलेको संसद्को आयु एक महिनाभन्दा कम भएको, केन्द्र र प्रदेश सभा निर्वाचनका लागि समय थोरै भएको तथा संसद्मा बहुमत पुर्याउन पनि एमाले, माओवादीलाई सहज नभएकाले तत्काल सरकार फेरिने सम्भावना भने कम देखिन्छ ।
मंगलबार आयोजित निर्वाचन तालमेल घोषणा कार्यक्रममा पनि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले आफूहरूको प्रयास कांग्रेस लक्षित नभएको भन्दै सरकार फेरबदलमा नलाग्ने संकेत गरेका छन् । तर एमालेले भने तत्काल सरकार फेर्नेसम्मको विकल्पमा जान माओवादीलाई प्रस्ताव गरेको चर्चा कांग्रेसभित्र भएको छ ।
सकेसम्म केपी ओली नेतृत्वको सरकार बनाए जसरी पनि निर्वाचनअघि नै सरकार फेरेर जान सकिने प्रस्ताव एमालेबाट आएको विषयमा मंगलबार कांग्रेस बैठकमा चर्चा भएको थियो । तर, समयको चाप र निर्वाचनको तयारीमा व्यस्त रहनुपर्ने, निर्वाचनको मुखमा सरकार फेर्दा गलत सन्देश जाने भएकाले यही सरकारलाई निर्वाचन गराउन दिने समझदारीमा पुगेको बताइन्छ ।