वामदेव गौतम राष्ट्रियसभामा जान नपाउने

काठमाडौं, पुस २९ ।
प्रतिनिधिसभा निर्वाचनमा हारेका एमाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा जाने बाटो पनि बन्द भएको छ । एमालेले प्रतिनिधिसभामा पराजित उम्मेदवारलाई राष्ट्रियसभाको उम्मेदवार नै नबनाउने निर्णय गरेको छ । शुक्रबार पार्टीद्वारा जारी राष्ट्रियसभाको उम्मेदवारको मापदण्डकमा,‘स्थानीय, प्रदेशसभा तथा प्रनिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचिमा नाम नभएका’ व्यक्ति उम्मेदवारका लागि योग्य हुने उल्लेख छ । जसअनुसार राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुनै वामदेव अयोग्य भएका छन् ।
प्रतिनिधि निर्वाचनमा पराजित भएपछि वामदेव राष्ट्रियसभा सदस्यमा उठ्ने चर्चा थियो । यद्यपी उनले यस विषयमा सार्वजनिक रुपमा केही बोलेका थिएनन् । पार्टीको मापदण्डले वामदेव लगायत स्थानीय, प्रदेश तथा प्रतिनिधिसभामा उठेर हारेका एमाले नेताहरुको राष्ट्रियसभामा जाने बाटो बन्द गरिदिएको छ । एकै व्यक्तिलाई धेरै अवसर नदिने नीतिअनुसार यस्तो मापदण्ड बनाइएको एक एमाले नेताले बताए ।