वामदेवका लागि काठमाण्डौं ७ का सांसद रामवीर मानन्धरको राजीनामा

काठमाण्डौं, असोज २३ ।
काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् । नेकपाका नेता वामदेव गौतमका लागि निर्वाचन क्षेत्र खाली गरिदिन उनले राजीनामा घोषणा गरेका हुन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेकपा नेता मानन्धरले बुधबार बस्ने पार्टी सचिवालय बैठकले निर्णय गरेलगत्तै आफूले सांसद पदबाट राजीनामा दिने बताए ।

उनले आफ्नो चुनावी क्षेत्रमा वामदेव गौतमले उपनिर्वाचन नहार्ने दावी गरे । पार्टीको बलियो संगठन रहेको र काठमाडौं ७ मा २० वर्ष अगाडिदेखि आफुले चुनाव जित्दै आएको उनले बताए । नेता मानन्धरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफैले कन्भिन्स गरेर राजीनामा दिएको बताएका छन् ।