वाटरफ्रण्ट रिसोर्ट–पेसी डेढ महिनापछि, सांसदले गरे सदनबाटै विरोध

पोखरा, साउन ३१ ।
फेवातालको जग्गामा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टको मुद्दाको पेसी डेढ महिनापछि सरेको छ । सर्वोच्च अदालतले वाटर फ्रन्ट मुद्दाको अन्तिम सुनुवाईको लागि आज पेसी तोकेको थियो ।

कानुन व्यवसायी विरामी भएर वहस गर्न नसक्ने अवस्था आएमा दुई पटकसम्म पेसी स्थगित गर्न सक्ने व्यवस्था छ । अधिवक्ता खगेन्द्र सुवेदीले २०६८ असार २३ गते शाक्यले फेवातालको जग्गा मिचेर रिसोर्ट बनाएको भन्दै रिट दायर गरेका थिए ।

यसैबीच, गण्डकी प्रदेशका सांसद राजीव पहारीले वाटरफ्रण्ट रिसोर्टलाई सुरुमै भत्काउनुपर्ने बताए । फेवातालको क्षेत्रफल अतिक्रमण गरेर बनेका संरचना भत्काउनका लागि सबैभन्दा पहिले रिसोर्ट भत्काउनुपर्ने उनको भनाई छ । धेरैपटक सम्म फेवाताल मुद्धा उठाएका पहारीले विहिबारको संसद बैठकमा बोल्दै तालको जग्गा अतिक्रमण गर्ने अधिकार कसैलाई नभएको र अतिक्रमण गरी संरचना बनाए भत्काउने चेतावनी दिए ।