वागी उम्मेदवार पगेनी विरुद्ध उजुरी

पोखरा, कार्तिक १७ ।
वामगठबन्धन विरुद्ध उम्मेदवारी दर्ता गरेका एमाले कास्कीका निर्वाचन कमिटि अध्यक्ष टीकाराम पगेनीविरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ । वाम गठबन्धनका उम्मेदवार दीपक कोइरालाको विरुद्धमा उनले उम्मेदवारी दर्ता गराएका थिए । सार्वजनिक पद धारण गरेको ब्यक्तिले नियमित रुपमा राज्यकोषबाट तलव सुविधा लिएको भन्दै शुक्रबार कोइरालाले पगेनी विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् । राज्यकोषबाटै आर्थिक सुविधा लिएको ब्यक्ति उम्मेदवार बनेको पगेनी विरुद्ध उजुरी छ । कोइरालाको उजुरीमा पगेनी गिरिजाप्रसाद कोइराला स्वासप्रस्वास केन्द्र दुलेगौंडा तनहुँको बोर्ड सदस्यका रुपमा कार्यरत छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका पगेनीले भने आफ्नो पद आर्थिक लाभको नभएको जिकिर गरे । ‘म राज्यबाट लाभ हुने कुनैपनि पदमा कार्यरत छैन । सार्वजनिक भनिएको पद पनि म्याद सकिईसकेको छ, उनले भने–यसले उम्मेदवारी दर्तामा कुनै असर राख्दैन ।’ उम्मेदवारी फिर्ता लिने बिषयमा भने पार्टीभित्र छलफल चलिरहेको उनको भनाई छ । पश्चिमाञ्चल क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले भने उजुरीकर्ता र आरोपित दुवै पक्षलाई शनिवार छानवीन गर्ने बताएका छन् ।