वाइसिएल नेताले भने–पहिले रगत बगायौं अव पसिना बगाउँछौं

काठमाण्डौं, पुस ३ ।
सोमबार बधाई दिन ओली निवास बालकोट पुगेका वाइसिएल नेपालका केन्द्रीय पदाधिकारीले देशको विकास र समृद्धिका लागि पसिना बगाउन तयार रहेको बताएका छन् । एमाले अध्यक्ष केपी ओलीलाई बधाई दिँदै उनीहरूले पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिन आग्रह गरे । वाइसिएलका उपाध्यक्ष वीरु तामाङले भने, ‘प्रचण्डको नेतृत्वमा हामीले रगत बगायौं तपाईंको नेतृत्वमा पसिना बगाउन तयार छौं ।’ अध्यक्ष ओलीले बधाई दिन आएका वाइसिएल पदाधिकारीको समुहलाई आफ्नो जेल जीवनबारे खुलेर सुनाए । ‘१४ वर्ष जेल बसेँ तर, कुनै पूर्जीमा हस्तक्षर गरिन । कतिसम्म भने जेलबाट छुट्दा पनि छुटकारा पूर्जीमा हस्ताक्षर नगरी निस्किंए । जेल हालेको केही समयपछि एउटा कागज ल्याएर हस्ताक्षर गर्न ठिक परेको त राजाको मन्त्री हुन तयार छु भनेको पो रहेछ ।’
‘राजतन्त्र र निरंकुशताको अन्त्यका लागि बिद्रोह गरेर हिडेको मान्छे, राजाकै मन्त्री खाने कुरा हुन्छ ? संविधान मान्दिन भनेर हिडेको मान्छेले त्यही संविधान अन्तर्गत मन्त्री हुने कुरा हुन्छ ?’ अध्यक्ष ओलीले फेरी थपे, ‘०४४ सालमा जेलबाट छुट्दा पनि सही नगरी छुटेको हुँ ।’ अडानबाट कहिले पनि विचलित नहुने स्वभाव भएकोले निर्णय लिने बेलामा नै सोचविचार गर्ने बानी रहेको बताए । ओलीले द्वन्द्वका बेला माओावादीका धेरै नेता कार्यकर्तालाई आफ्नो पहलले ज्यान बचाएको सुनाए । ‘कहिले सेनापतिलाई आग्रह गरेर, कहिले आइजीलाई, कहिले गृहमन्त्रीलाई आग्रह गरेँ । थुप्रै माओवादी कार्यकर्ताको ज्यानको सुरक्षा गरेको छु । ‘बिचार र बाटो सही वा गलत के हो भन्ने बहस गरौंला । तर, मान्छेको ज्यानै मार्नु हुन्न भन्ने मेरो मान्यता हो ।’
उनले ०२८ सालमा झापा बिद्रोहका बेला आफूहरुले पनि हिंसात्मक आन्दोलन थालेपनि मारकाटबाट राजनीति बदलिँदैन भनेर त्यसैबेला त्यस्तो विचार त्यागेको बताए । आगामी सरकारले युवा स्वरोजगार कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्दै ओलीले आफू प्रधानमन्त्री भएका बेला शैक्षिक योग्यताको प्रमणपत्र राखेर ऋणदिने व्यवस्था गरिएको सुनाए । युवाहरुलाई उद्यमी, अध्ययनशील, समाजका रोल मोडल र सीपयुक्त हुन ओलीले कार्यकर्तालाई सुझाव दिए ।