वाइडबडी खरिदमा मेरो गल्ती भेटिए राजनीतिबाटै सन्यास लिन्छु–मन्त्री अधिकारी

पाेखरा, कार्तिक २५ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले वाईडबडी खरिद प्रक्रियामा आफ्नो गल्ती भए राजनीतिबाटै सन्यास लिने उद्घोष गरेका छन् । अनलाईनखवरसँगको कुराकानीमा उनले वाईडबडी खरिदमा आफुले कुनै कमजोरी नगरेको दावी गरे ।

मन्त्री अधिकारीले मन्त्रालयबाट राम्रो काम गर्न खोज्दा आफूमाथि प्रहार भइरहेको गुनासो गरे । चिनियाँ वाइडबडी विमान खरिद प्रकरणमा अघिल्लो सरकारका पालामा अनियमितता भएको हुन सक्ने भन्दै मन्त्री अधिकारीले छानविन हुनुपर्ने बताए ।

‘यसमा मेरो यदि अलिकति पनि संलग्नता कसैले छानविनका क्रममा भेटेछ भने दाबाका साथ भन्छु जिन्दगीभरि राजनीतिक सन्यास लिन्छु, उनले भने–वाइडबडी खरिद प्रक्रियामा जिरो प्रतिशत पनि संलग्न छैन । थोरैमात्र पनि कुनै डर छैन । किनकि जब बिराइँदैन भने डर हुन्न क्या ।’

३ वर्षअघिकै प्रक्रिया आफुँले अघि बढाएको भन्दै उनले अहिलेको सरकारलाई आरोप लगाउने वाहियात कुरा भएको तर्क गरे । ‘म भन्न चाहान्छु यसमा अनियमितता देखिँदा खोज्ने, छानविन गर्ने जति पनि संस्था छन्, उनीहरुलाई छानविनमा सघाउँछौं । जे सूचना चाहिन्छ, दिन्छौं, उनले भने–तर, यसको नाममा नेपाल एयरलाइन्सलाई समाप्त पार्ने काम चाहिँ नगरौं । नेपाल एयरलाइन्स प्रभावकारी रुपमा चलाउनुपर्यो । अनियमतिता गर्ने व्यक्तिलाई कारवाही गर्नुपर्यो ।’

वाइडबडीमा अनियमितता भएको आशंकामा अख्तियार र संसदीय समितिले पनि छानविन थालेको छ । बाहिर आएका होहल्लाका पछि नलाग्न र सरकारले गरेका राम्रा कामको बचाउ गर्न उनले नेता तथा कार्यकर्तासँग आग्रह गरेका छन् ।