वाइडबडी खरिदमा चार अर्ब घोटाला, कारबाहीको सिफारिसमा को को परे ? (नामावली)

काठमाण्डौं, पुस १७ ।
संसदीय उपसमितिले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा झन्डै चार अर्ब रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको छ । वाइड बडी विमान खरिद सम्बन्धमा छानबिन गर्न बनेको संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले जहाज खरिदमा झन्डै चार अर्ब रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको हो ।

उपसमितिले खरिद प्रक्रियामा संलग्न वायुसेवा निगम सञ्चालक समिति तथा निगम मूल्यांकन समितिका सबै सदस्यमाथि कारबाहीको सिफारिस गरेको छ । निगमले दुइटा वाइड बडी जहाज खरिद गर्दा अनियमितता भएको सार्वजनिक भएपछि लेखा समितिले छानबिन गर्न उपसमिति गठन गरेको थियो । उपसमितिले १५ दिनसम्म अनुसन्धान गरी झन्डै चार अर्ब अनियमितता भएको फेला पारेको हो ।

प्रतिवेदनमा तीन शीर्षकमा सबैभन्दा बढी रकम घोटाला भएको उल्लेख छ । उपसमितिका एक सदस्यका अनुसार जहाजको तौल, आधार मूल्य र मूल्य समायोजनमा सबैभन्दा बढी रकम घोटाला भएको छ । प्रत्येक शीर्षकमा एकएक अर्ब रुपैयाँ घोटाला भएको अनुसन्धानका क्रममा भेटिएको ती सदस्यले जानकारी दिए ।

कारबाहीका लागि सिफारिसमा परेकाहरू

उपसमितिले तयार गरेको प्रतिवेदनअनुसार जहाज खरिदमा नेपाल वायुसेवा निगम सञ्चालक समितिमा रहेका सबै बोर्ड सदस्य संलग्न छन् । समितिमा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, तत्कालीन पर्यटन सचिव शंकर अधिकारी, सहसचिव बुद्धिसागर लामिछाने र सुरेश आचार्य, अर्थ मन्त्रालयका तत्कालीन सहसचिव शिशिर ढुंगाना थिए ।

त्यसैगरी निजी क्षेत्रबाट निमानुरु शेर्पा, अच्युतराज पहाडी र मुक्तिराम पाण्डे बोर्ड समितिमा छन् । उपसमितिको प्रतिवेदनअनुसार यी सबै व्यक्ति कारबाहीको सिफारिसमा छन् । निगममा सात सदस्यीय सञ्चालक समिति हुन्छ ।

महाप्रबन्धक कंसाकारले निगमका कर्मचारीबाट पनि जहाज खरिद मूल्यांकन गर्न ११ सदस्यीय समिति बनाएका थिए । प्रतिवेदनमा ती समितिका सबै सदस्यमाथि कारबाही सिफारिस गरिएको छ । मूल्यांकन समितिमा तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, हालका अप्रेसन डाइरेक्टर आरके शेरचन, इन्जिनियरहरू प्रभास कर्माचार्य, पारस पौडेल, उपेन्द्र पौडेल, चार्टड एकाउन्टेन्ट निमेश पौडेल, कमर्सियल उपनिर्देशक जनकाराज कालाखेती, तत्कालीन कमर्सियल निर्देशक रामहरि शर्मा, तत्कालीन फाइनान्स डाइरेक्टर रवीन्द्र श्रेष्ठ, क्याप्टेन श्रवण रिजाल, प्रशासन प्रमुख बृहत्मान तुलाधर थिए ।–नागरिक दैनिकले लेखेको छ ।