वहुमत सहित स्थायी सरकार बनाउँछौं–अधिकारी

पोखरा, कार्तिक २२ ।
नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनले कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा १७ मा चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरेको छ । एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर ४ का इञ्चार्ज गणेश तिमिल्सीनाले कार्यालय उद्घाटनपछि बोल्दै वाम गठबन्धन नेपालको आवश्यक्ता भएको बताए । उनले चुनावमा वाम एकतालाई जिताउन मतदातासँग आग्रह समेत गरेका छन् ।
कास्की क्षेत्र नम्बर २का प्रतिनिधीसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले आगामी निर्वाचनमा वाम गठबन्धनले नै अत्याधिक बहुमतका साथ सरकार निर्माण गर्ने दावी गरेका छन् । उनले देशको आवश्यक्ताले गठबन्धन जुरेको भन्दै देशलाई समृद्धीतर्फ डोहो¥याउने दायित्व पनि गठबन्धनसँग भएको बताए । ‘देशलाई समृद्धी चाहिएको छ । स्थायी सरकार चाहिएको छ । गठबन्धन नगरी बहुमत आउँदैन र स्थायी सरकार पनि बन्दैन, उनले भने–त्यही समृद्धीका र राजनीतिक स्थीरता दिनका लागि गठबन्धन भएको हो ।’
क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) का उम्मेदवार कृष्ण थापाले चुनावमा एमाले माओबादी प्राविधिक हिसावले एक नभएपनि चुनाव लगत्तै पार्टी एकता हुने विश्वास ब्यक्त गरे । उनले दुई पार्टीबीच कुनै मतभेद नरहेको भन्दै मिलेर अगाडी बढ्न दुवै पार्टीका नेता कार्यकर्तासँग आग्रह गरेका छन् । थापाले प्रदेशलाई समृद्ध बनाउन आफँु कम्मर कसेर लाग्ने प्रतिबद्धता जनाए । कार्यक्रम पोखरा १७ का एमाले अध्यक्ष सुवास ढुंगानाको अध्यक्षतामा भएको थियो ।