वर्ष दिन बित्यो, स्वर्ण पदक विजेताले पाएनन् रोजगारी

धन बस्नेत
पोखरा, पुस २२ ।
स्वर्ण पदक विजेता खेलाडीले एकवर्षसम्म रोजगारी पाएका छैनन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेतालाई रोजगारी दिने प्रतिबद्धता पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले गरेको थियो । तर अहिलेसम्म कुनै पनि खेलाडीले पनि रोजगारी पाएका छैनन् । आवश्यक कागजपत्र पेश गरेपनि रोजगारीको प्रक्रिया नै अगाडि बढेको छैन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले भने स्वर्ण पदक विजेता खेलाडीले आवश्यक कागजपत्र नै पेश नगरेको जनाएको छ । गत वर्षको पुसमा पुर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चलको तर्फबाट स्वर्ण पदक विजेता खेलाडीलाई रोजगारीको ग्यारेन्टी गरिएको थियो । आफनो दक्षता अनुसार विभिन्न कम्पनीमा रोजगारीको लागि आवश्यक सहमति समेत क्षेत्रीय खेलकुद विकास समितिले गरेको थियो । तर वर्षदिन वितेपनि खेलाडीले रोजगारीको लागि कागजपत्र नै पेश नगरेको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए ।
सातौं खेलकुद प्रतियोगितामा पश्चिमाञ्चलले छ वटा स्वर्ण पदक जितेको थियो । टेनिस, आईटिएफ, फुल कन्ट्याक्ट कराँते र सेपाक टाक्रोमा पश्चिमाञ्चलले स्वर्ण पदक जितेको थियो । “जागिरको लागि कागजपत्र पेश गरेपनि वर्षदिन भै सक्यो । कुन ठाँउमा जागिर खाने हो यकिन छैन् ।” फुल कन्ट्याक्ट कराँतेमा स्वर्ण पदक जितेकी सुष्मी श्रेष्ठको भनाई उदृत गर्दै प्रशिक्षक दिपकबहादुर गोदारले भने–“कागजपत्र पेश भईसकेको छ । तर सुनुवाई कतै भएको जस्तो लाग्दैन् ।” पुर्वाञ्चलबाट फर्किएको तीन दिनमै स्वर्ण पदक जितेको प्रमाणपत्रसहित आवश्यक शैक्षिक कागजपत्र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति कार्यालयमा पेश गरेको उनले सुनाईन् । तर उनको कागजपत्र विषयमा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले आईटिएफ बाहेक अरु कसैको पनि कागजपत्र पेश नभएको स्पष्ट पारे ।
“जागिर खुवाउछु भन्दा पनि खेलाडीले कागजपत्र पेश गरेका छैनन् ।” उनले भने–“आईटिएफको खेलाडीको पेश भएको थियो । उसलाई एउटा कम्पनीमा पठाईयो तर खेलाडीकै समय मिलेन भनेर फर्कियो ।” उनले बिहीबार झापामा हुने राष्ट्रिय बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडीलाई रोजगारीको अवसर सृजना गरिदिने प्रतिबद्धता दोहोर्याए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले टेनिस बाहेक अरु खेलाडीको आवश्यक कागजपत्र पेश भएको सुनाए । “टेनिस खेलाडीले कागजपत्र पेश गरेनन् । अरुले कागजपत्र पेश गरेका थिए ।” उलने भने–“सेपाक टाक्रोका खेलाडीले अध्ययनरत रहेको भन्दै जागिर खाएनन् ।” क्षेत्रीय खेलकुद विकास समितिले बतास अर्गनाईजेशन, माछापुच्छ«े बैंक, पृथ्वीराजमार्ग बस व्यवसायी समिति, लक्ष्मी हाउस लगायत विभिन्न कम्पनीसँग आवश्यक सहमति गरेको थियो ।