वडासचिव घुस सहित पक्राउ

इटहरी, भदौ २ ।
इटहरी उपमहानगरपालिका–१० का वडा सचिव विदुर रेग्मी सेवाग्राहीबाट घुस लिएकोे अभियोगमा पक्राउ परेका छन् । होटल सञ्चालन सम्बन्धी दर्ता स्वीकृतिको प्रमाणपत्र उपलब्ध गराउने भन्दै सेवाग्राहीबाट १३ हजार रुपैयाँ घुस लिएको अभियोगमा शुक्रबार साँझ इटहरी–६ स्थित रोजरक मम हाउसबाट उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
नियन्त्रणमा लिन खोज्दा सचिव रेग्मीले सादा पोशाकमा रहेका प्रहरी निरीक्षक राजन कार्कीको नेतृत्वका टोलीसँग ’गोजीमा पैसा हालेर फसाउन खोजेको’ भन्दै विरोध जनाएका थिए । उनलाई थप अनुसन्धानका लागि इटहरीस्थित आयोगको कार्यालयमा लगिएको जनाइएको छ ।