ल्वाङबाट नयाँ शक्तिले दोहोर्यायो कार्यकारी राष्ट्रपति चाहिन्छ

प्रकाश ढकाल
ल्वाङ (कास्की), पुस २० ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय ब्यवस्था माग गर्दै नयाँ शक्ति पार्टीको ल्वाङ बैठक सकिएको छ । जनताले राजनीतिक स्थिरता, सुशासन, सामाजिक न्याय र समृद्धी चाहेका भन्दै त्यसका लागि कार्यकारी राष्ट्रपतिको विकल्प नभएको नयाँ शक्तिको ठहर छ । ‘निर्वाचनपछिका केही दिनभित्र राजनीतिक बृत्तमा देखिएका उठापटकले जनताको चाहना र जनादेशको सम्मान गर्न नसक्ने स्पष्ट संकेत देखाईसकेको छ, बैठकपछि सार्वजनिक गरिएको निर्णयबुँदामा लेखिएको छ–यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणाली र पूर्ण समानुपातिक संसद् नै सर्वोत्तम विकल्प हो । यसलाई पार्टीले जोडदार रुपमा उठाउने निर्णय गरेको छ ।’ बैठकले विभिन्न १० बुँदालाई निर्णयको रुपमा पत्रकारमाझ सार्वजनिक ग¥यो ।
नयाँ शक्तिले हालसम्मको सकारात्मक उपलब्धी रक्षा गरी कमीकमजोरी हटाएर नेपालकै सशक्त बैकल्पिक पार्टीको रुपमा स्थापित गर्ने निर्णय गरेको छ । प्रदेशसभा र प्रनितिनिधिसभा सदस्यको भर्खरै सम्पन्न निर्वाचनको समीक्षा गर्दै जनतालाई पार्टीको नीतिबारे स्पष्ट पार्न नसक्दा अपेक्षाकृत जनमत नपाएको दावी गरेको छ । यस्तै संविधानमा देखिएको असन्तुष्टीलाई संशोधनमार्फत समाधान गर्न राजनीतिक दल र सरकारसँग माग गरेको छ । ब्याप्त भ्रष्टाचार र जघन्य अपराधविरुद्ध जनतालाई एकताबद्ध गराई सम्झौताविहिन जवरजस्त आन्दोलन गर्ने, भूकम्पपीडितको समस्या तत्काल समाधान गर्न सरकार र पुनःनिर्माण प्राधिकरण तथा स्थानीय सरकारसँग माग गरेको छ भने बढ्दो गरीवी र बेरोजगारी समस्या समाधान गर्न विशेष योजना बनाएर कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण पनि गरेको छ । निर्वाचन सम्पन्न भएको ६ महिना वितिसक्दा पनि स्थानीय तहको नीति, नियम नबन्दा विकास निर्माणको काममा ब्यवधान सिर्जना भएकोप्रति गुनासो गर्दै तत्काल आवश्यक नीति नियम तर्जुमा गर्न नयाँ शक्तिले सुझाव दिएको छ । गत मंगलबारदेखि कास्कीको पर्यटकीय गाउँ ल्वाङमा नयाँ शक्तिको महाधिवेशन आयोजक समिति बैठक भएको हो । बैठकले आगामी फागुन १०, ११ र १२ गते पार्टीको संघीय परिषदको विस्तारित बैठक गरेर आगामी रणनीति तयार गर्ने निर्णय पनि गरेको छ ।