लोकसेवाको विज्ञापन नरोकिने

काठमाडौं, भदौ २९ ।
लोकसेवा आयोगलाई कर्मचारी भर्नाका लागि विज्ञापन गर्ने बाटो खुला भएको छ । संसदको राज्य व्यवस्था समितिले विज्ञापन नखोल्दा प्रतिस्पर्धाका लागि योग्य व्यक्तिहरुलाई असर पर्ने भन्दै भर्ना खुला गर्न शुक्रबार निर्देशन दिएको हो ।
यसअघि कर्मचारी समायोजन विधेयक सरकारले ल्याएकाले नयाँ कर्मचारी भर्ना नगर्न समितिले नै लोकसेवा आयोगलाई निर्देशन दिएको थियो । राज्य व्यवस्था समितिले विगतको आफ्नै निर्देशन शुक्रबार सच्चाएको हो ।
‘कर्मचारी भर्ना रोक्दा योग्यता पुगेकाहरु प्रतिस्पर्धामा आउन नसक्ने र जनशक्ति व्यवस्थापनमा समेत केही समस्या पर्ने भएकाले समितिले भर्ना विज्ञापन नरोक्न लोकसेवालाई निर्देशन दिएको छ,’–समिति सभापति दिलबहादुर घर्तीले भने ।
सरकारले कर्मचारी समायोजन विधेयकमा एक वर्षसम्म नयाँ कर्मचारी भर्ना नगर्ने प्रस्ताव ल्याएको छ । यसअघि दुई वर्षसम्म रहेको प्रावधानलाई लोकसेवा आयोगको व्यापक विरोधपछि सरकारले एक वर्षमा झारेको हो ।
कर्मचारी भर्ना नरोक्न संसदीय समितिले दिएको निर्देशनलाई लोकसेवा आयोगले स्वागत गरेको छ । ‘१० लाख युवा लोकसेवाको तयारी गरेर बसिरहेको अवस्थामा भर्ना रोक्दा उनीहरुको मनोविज्ञान के हुन्छ ? विदेश पलायनको अवस्था आउँदैन ? संसदीय समितिले दिएको निर्देशन स्वागत योग्य छ,’ आयोगका अध्यक्ष उमेश मैनालीले भने । सरकारले कर्मचारी समायोजन विधेयकलाई छिटै पारित गर्नुपर्ने उनले बताए ।