लेखनाथ उद्योग वाणिज्य संघमा भण्डारीको प्यानल

पोखरा, असोज २९ ।
लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी निर्वाचित भएका छन् । संघको ११ औं महाधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । भण्डारीले निकटतम प्रतिद्धन्द्धी इञ्जिनियर वसन्तमोहन भट्टराईलाई ५ सय ७ मतले पछि पार्दै पराजीत गरे ।
कुल एक हजार एक सय ५७ मत खसेकोमा विजयी भण्डारीले ८ सय २४ र पराजित भट्टराईले ३ सय १७ मत प्राप्त गरे । समितिको वरिष्ठ उपाध्यक्षमा बलराम ढकाल विजयी भए । उनी प्रतिष्पर्धी गीतादेवी सुवेदीलाई २ सय १५ मतले पछि पार्दै विजयी भएका हुन् ।
यस्तै, प्रथम उपाध्यक्षमा वर्तमान महासचिव छत्रधर आत्रेय, द्वितीय उपाध्यक्षमा विनोदकुमार श्रेष्ठ, महासचिवमा भरतकुमार अधिकारी, उपमहासचिवमा गोपिचन्द्र बास्तोला, कोषाध्यक्षमा राजेन्द्र ओझा बिजयी भए ।
सदस्यहरुमा महिलातर्फ जानुका अधिकारी र राधा सापकोटा, खुला तर्फ उपेन्द्रराज सुवेदी, रामजी पौडेल, मेनुका श्रेष्ठ, भरतराज ओझा, सरोजराज अधिकारी, भीमबहादुर नेपाली काईला, शिवप्रसाद भण्डारी र भट्टराई प्यानलका धिरजकुमार श्रेष्ठ बिजयी भएका छन् ।
संघमा संस्थागततर्फ शैलेन्द्रमोहन भट्टराई र एशोसियटतर्फ प्रशान्तराज धमला यसअघि नै निर्विरोध भएका थिए । २३ सदस्यीय कार्यसमितिमा निर्वाचित अध्यक्षले तीन जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ । निवर्तमान अध्यक्ष पदेन सदस्य रहनेछन् ।
यसअघी शनिबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म भएको मतदानमा कुल एक हजार दुई सय ५५ मतदाता मध्ये १ हजार १ सय ५७ अर्थात झण्डै ९२ प्रतिशत मत खसेको थियो । मतगणना शनिबार साँझ ५ बजेबाट शुरु भएको थियो । नयाँ कार्यसमितिलाई आइतबार बिहानै निर्वाचन आयुक्त आचार्यले शपथ खुवाएका छन् ।