लेखनाथमा बन्ने बसपार्क टुंग्याउन माग

पोखरा, पुस २९ ।
लामेआहालमा क्षेत्रीय बसपार्क बनाउने कुरा चलेको वर्षौं बितिसक्दा पनि सम्बन्धित निकायले तदारुकता नदेखाएको भन्दै स्थानीयबासीले सांसद तथा सरोकारवालाको ध्यानाकर्षण जनाएका छन् । बिहीबार उनीहरुले कास्की १ बाट निर्वा्चित सांसद, पोखराउपत्यका नगर विकास समितिका अध्यक्ष र अरु स्थानीय सरोकारवाला बोलाई यस विषयमा छलफल गरे । लामेआहालको करिब ३ सय रोपनी जग्गामा बसपार्क निर्माण गर्न पहल हुँदै आएको छ । ७ वर्षदेखि नै व्यक्तिगत अतिक्रमण र प्लटिङ लगायत गतिविधि हुन नदिई निरन्तर निगरानी गर्दै आएको क्षेत्रीय बसपार्क निर्माण सहयोग समितिका संयोजक खेम पुनले बताए। उक्त ठाउँमा बसपार्कको कुरा चल्नु अगावैदेखि केही भूमिहीनहरु भने घर बनाएर बसिरहेका छन् । स्थानीयबासीले भूमिहीनलाई पुनःस्थापना र व्यक्तिगत जग्गा अधिग्रहण गरी बसपार्कका लागि पहल लिन सांसद तथा सरोकारवालालाई आग्रह गरेका छन् ।
२०५६ सालमा पहिलोपटक तत्कालीन लेखनाथ नगरपािलका कार्यालयको पहिलो नगरपरिषदले उक्त स्थानमा क्षेत्रीय बसपार्कको योजना अघि सारेको थियो । योजना तय भएको एक दशकपछि २०६८ सालमा तत्कालिन पोखरा उपत्यका नगरविकास समितिको कार्यसम्पादनका क्रममा यो योजना पुनः पुनताजगी भएको थियो । पोखरा पृथ्वीचोकमा भएको पोखरा बसपार्क व्यवस्थीत गर्ने छलफलको निष्कर्ष स्वरुप उक्त बसपार्कलाई सिटी बसपार्क र लेखनाथको लामेआहाल स्थित पर्ती जग्गामा क्षेत्रीय बसपार्क बनाउने निर्णय भएको थियो । उक्त सम्भाव्यता निगरानी गर्न तत्कालीन पोखरा उपत्यका नगरविकास समितिका सदस्य तथा पोखरा ३२ कै स्थानीयवासी खेम पुनको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनेको थियो । उक्त कार्यदलकै सक्रियतामा बसपार्क निर्माण प्रभावित हुनेगरी गैरकानुनी क्रियाकलाप रोक्ने, स्थानीय सचेतना जस्ताका काम भइरहेका छन् । तर स्थानीयस्तरबाट भएको प्रयास अनुरुप नेतृत्व र सरोकारवालाले चासो नदिएको उनीहरुको गुनासो छ ।
बिहीबारको छलफललाई सम्बोधन गर्दै, प्रतिनिधिसभाका लागि कास्की क्षेत्र नं १ बाट निर्वा्चित सांसद खगराज अधिकारीले निर्वा्चित हुनेबित्तिकै आफू यस क्षेत्रका सबै समस्याप्रति गम्भीर बनेको बताए । ‘लामोसमयसम्म सपथ खान नपाएका कारण पनि कतिपय काम तत्काल सुचारु गर्न नसकिएको हो,’ उनले भने । उनले लामेआहाल बसपार्कका लागि प्राय सबै विधि प्रक्रिया पुगिसके पनि जग्गा मुआब्जासहित केही काममात्र बाँकी रहेको जानकारी दिए । यो समस्या यथाशीघ्र चाँडो सल्टाएर बसपार्क निर्माण सुरु गरिहाल्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता सांसद अधिकारीले जाहेर गरे । प्रदेश सभा सांसद दीपक कोइरालाले यहाँका कतिपय स्थानीयबासीको जग्गा रोक्का भएकाले व्यक्तिगत र सरकारी दुबै रुपमा निर्माणको बाटो खुल्न नसकेको बताए । ‘जतिसक्यो चाँडो बसपार्क निर्माण गर्नुपर्छ,’ उनले भने, ‘विकास पद्धतिदीर्घकालीन बनाउनुपर्ने बेला भइसकेको अवस्थामा क्षेत्रीय बसपार्क निर्माणका लागि लामेआहाल प्रदेशकै उत्कृष्ट ठाउँ हो ।’
पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले क्षेत्रीय बसपार्क लेखनाथमै बन्नेमा ढुक्क हुन स्थानीयबासीलाई आग्रह गरे। ‘धेरै सरकारी तथा व्यापारिक संरचनाका कारण साविक पोखरा साँघुरो हुँदै गएको अवस्थामा दीर्घकालीन विकास चाहने जोकोहीको रोजाइ लेखनाथ हुनुपर्छ,’ उनले भने । श्रेष्ठले ल्यान्डपुलिङ पद्धतिबाट जग्गा अधिग्रहण तथा मुआब्जाको प्रक्रिया अघि बढाउने योजना पोखराउपत्यका नगरविकास समितिले बनाइरहेको पनि जानकारी गराएका थिए । कार्यक्रममा स्थानीयबासीको तर्फबाट लामेआहाल क्षेत्रीय बसपार्क निर्माण सहयोग समितिका संयोजक खेम पुन, स्थानीय सामाजिक कार्यकर्ता प्रकाशचन्द्र पागल लगायतले पनि बोलेका थिए । करिब ४ सय रोपनी क्षेत्रफलमा बसपार्क बनाउन सम्भावना रहेको उक्त लामेआहाल बसपार्क निर्माण परिसरमा यतिबेला करिब ३० वटा परिवार बस्दै आएका छन् । उनीहरुमध्ये धेरैसँग सेतो जग्गाधनी पुर्जा र केहीसँग जग्गानामसारी व्यक्तिगत तमसुकमात्र छ । बसपार्क निर्माण गर्नेहो भने सरकारले उचित मुआब्जा दिनुपर्ने उनीहरुले बताउँदै आएका छन् ।
पत्रकार स्मिता अधिकारीले समाधान दैनिकका लागि लेखेकी हुन् ।