लामखुट्टे खोज र नष्ट गर्ने अभियान वडा नं ९ मा सम्पन्न

 

पोखरा, भदौ १९ ।

पोखरा महानगरपालिका वडा नं ९ को आयोजना तथा स्वास्थ्य महाशाखाको सहकार्यमा डेँगु रोग सार्ने लामखुट्टे खोज र नष्ट गर्ने अभियान सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष रामराज लामिछानेले वडा का २४ स्थानमा करिब ५ सय जनशक्ति खटाएर डेँगु रोग सार्ने लामखुट्टे खोज र नष्ट गर्ने अभियानलाई वृहत रुपले सम्पन्न गरेको बताए । यस रोगको बारेमा जानकार हुँदाहुँदै पनि यस बिषयप्रति चासो नराखेको कारण नियन्त्रणमा ल्याउन निकै कठिन भएको उनले बताए । यसका निम्ति सबै नागरिकहरु विशेष सचेत रहन जरुरी रहेको लामिछानेले भनाई थियो ।

वडा नं ९ का वडा अध्यक्ष लामिछानेसँगै सम्पुर्ण जनप्रतिनिधिहरुले अभियानको अनुगमन तथा निगरानी गरेका थिए ।

स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले वडा नं ९ सबैभन्दा डेँगु रोग प्रभावित क्षेत्र रहेको र करिब २ सय जना व्यक्तिहरुमा सो रोग देखा परेको जानकारी दिए । एकदिनको कार्यक्रमले मात्रै रोग निर्मुल पार्न सम्भव नहुने भन्दै उनले स्वास्थ्यका लागि नागरिक स्वंयमसचेत भई यस रोगबाट बच्ने उपायहरुमा ध्यान दिन जरुरी रहेको बताए ।

डेँगु एक सरुवा रोग भएकाले यस रोग लागेमा ज्वरो आउने, जीउ दुख्ने, टाउको दुख्ने, आँखा दुख्ने तथा छालामा रातो दागका धब्बाहरु देखिने जस्ता लक्षण देखा पर्ने भन्दै उनले यस रोगबाट बँच्नको लागि पानी जम्ने स्थान, खुल्ला पानी टेयाङ्की, टायर, गमला जस्ता ठाँउमा पानी जम्न नदिने तथा शरिर सबै ढाकिने लुगा लगाउन सबैलाई आग्रह समेत गरे ।

गत वर्ष करिब ६०० जना डेँगु रोग बाट प्रभावित भएको र यस वर्ष पनि यो रोगले विकराल रुप लिएको हँुदा सचेत हुन जरुरी रहेकोमा शर्माको जोड थियो ।

उक्त अभियानमा प्रत्येक टोल विकास संस्थाको नेतृत्वमा महिला समुह, युवा क्लब, नेपाल प्रहरी, स्वास्थ्य मन्त्रालयका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।