लाप्राक अझै नमुना बन्छ–एनआरएन अध्यक्ष भट्ट

पोखरा, माघ २ ।
एनआरएन अध्यक्ष भवन भट्टले लाप्राकको नमुना बस्ती अझै नमुना बनाईने बताएका छन् । उनले केही नयाँ संरचना थप गरेर यहाँका सबै घरहरुलाई नमूना बनाईने बताए । गएको नोभेम्बरमा गैर आवासीय नेपाली संघ (एनआरएन) को निर्वाचनबाट विजयी भएपछि लगातार जसो नेपाल आएका उनी संघको विभिन्न कार्यक्रममा सक्रिय रहेको बताउँछन् । ‘निर्वाचन भएपछि पहिलो पटक भौतिक उपस्थितिमा संघको कार्ययोजना र यसको तर्जुमाका विषयमा तीन दिने बैठक पहिलो पटक धुलिखेलमा सम्पन्न भयो । त्यसपछि संघले प्रारम्भ गरेका दुई अपुरा योजना लाप्राक र एनआरएन भवनको विषयमा हामीले ब्यापक छलफल र बिमर्श गरी त्यसलाई द्रूत गतिमा अगाडि बढाउने काममा जुटेका छौं, उनले भने–यस बाहेक संघका अन्य कृयाकलापमा समेत टिमको सहभागिता उल्लेख्य रुपमा बढेको छ ।’ उनले नेपाल सरकारका बिभन्नि निकायसँग भेटघाट र लगानी भित्र्याउने विषयमा निकै महत्वपूर्ण छलफल समेत भइसकेको उल्लेख गरे ।
‘म धेरै पटकसम्म लाप्राक पुगें । लाप्राकलाई हामीले नमुना बस्तीका रुपमा पेश गरेका थियौं, उनी भन्छन्– एनआरएनले गरेको बचनबद्धता अनुरुप यसलाई नमुना बस्ती बनाउनु हाम्रो सामू अझै चुनौती छ । हामीले यस बस्तीमा केही अपुग ट्वाइलेट थप्ने सोंच बनाएका छौं ।’ उनले एनआरएन अविछिन्न उत्तराधिकारीका संस्था भएको भन्दै यसमा ब्यक्तीको निर्णय भन्दा संस्थाको गरिमा महत्वपूर्ण हुने धारणा राखे । भट्टले एनआरएन भवनलाई थप सेवा र सुविधा अनि आम्दानीको श्रोत बाँधीने ढाचाँमा निमार्ण कार्य अगाडि बढाएको जानकारी दिए ।