लागू औषधको अड्डामा कास्की प्रहरीको छापा, छोरेपाटनबाट समातिए वाङदोर्जे

पोखरा, असार २ ।
गएको शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दक्षिण गेट नजिकै रहेको एक घरमा छापा मार्दा झण्डै १३ लाख मूल्य बराबरको ठूलो मात्रामा लागुऔषध भेटियो । १८ वर्षीय किशोर डेविड तामाङलाई ठूलो मात्रामा लागुऔषध सहित कास्की प्रहरीले पक्राउ गरेको थियो ।

टिनको सो कोठालाई ड्रग्स अड्डा नै बनाउने यति सानो उमेरको तामाङ एक्लै थिएनन् । उनको दाइ नाता पर्ने मुख्य कारोबारी वाङदोर्जे तामाङ भने फरार रहेका थिए । भोलिपल्टै शनिबार वाङदोर्जे पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक चौतारा गाँउपालिकाका १८ बर्षीय तामाङलाई १ हजार ९ सय २ थान लागुऔषध सहित पक्राउ गरेर सफलता पाएको कास्की प्रहरीले फरार रहेका सिन्धुपाल्चोककै मार्मी ८ का २५ बर्षीय लागुऔषध कारोबारी वाङदोर्जे तामाङलाई पोखरा १७ छोरेपाटन नमुना टोलबाट पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । उनीहरु पोखरा १० उत्तमचोकमा बस्दै आएको कार्कीले जानकारी दिए ।

प्रहरीले हिजो पक्राउ परेका डेविड तामाङको साथबाट डाइजापाम, नर्फिन र फेनारगन गरी १ हजार ४ सय ६४ थान, नाइट्रोसन १ सय चक्की र एनसेडील ३ सय ३८ बोत्तल बरामद गरेको थियो । पक्राउ परेका डेभिडले आफुलाई दाइले फसाएको बताएका छन् । पछिल्लो समय पोखरा बसेर लागुऔषध कारोबारमा सक्रिय उनीहरुलाई नियन्त्रणमा लिएपछि लागुऔषध कारोबारको नेटवर्क नष्ट गर्न केही सघाउ पुग्ने विश्वास लिइएको छ ।