लागुऔषध काराेवारी समात्न गएकाे पुलिस नै ठगिएपछि……..
बागलुङ, जेठ ४ ।
सादा पोशाकमा लागुऔषध ओसारपसारमा संलग्नलाई पक्राउ गर्ने उद्देश्यले नक्कली लागुऔषध प्रयोगकर्ता बनेका प्रहरीहरु आँफै ठगिएका छन् । बाग्लुङमा लागुऔषधको प्रयोग भइरहेको जानकारी पाएपछि ओसारपसारमा संलग्नलाई नियन्त्रण गर्न गएका प्रहरीहरु नै ठगिएका हुन् ।
नक्कली लागुऔषध प्रयोगकर्ता बनेर गएका प्रहरीलाई ओसारपसारमा संलग्न एक व्यक्तिले १० हजार ५०० रुपैँया ठगेर बेपत्ता भएका हुन् । पर्वतको मालढुङ्गामा लागुऔषध खरीदका लागि पुगेका प्रहरीसँग रकम लिएर लागुऔषध लिन भन्दै हिँडेका कुमार भनेर चिनिने एक व्यक्ति बीचैबाट फरार भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।
‘पहिले पैसा लिएर लागुऔषध दिने उनीहरुको सिस्टम हुँदोरहेछ, हामीले सोहीअनुसार रङ्गेहात पक्राउ गर्ने प्रयास गर्यौं’, उनले भने ‘तर बिक्री गर्ने व्यक्ति पैसा लिएर फरार भयो ।’ जिल्ला र आसपासका क्षेत्रमा उक्त व्यक्ति नरहेको र खोजी भइरहेको शर्माले बताए ।