लाइन बसेर मत हालिन विद्याले
पोखरा, मंसिर १४ ।
अरु मतदातासँगै लाइनमा बसेर नेकपा उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छिन् । पोखरा ३३ भरतपोखरी स्थित शान्ति उदय माविबाट पौने १० बजे उनले मतदान गरेकी हुन् ।
कास्की २ मा उम्मेदवार बनेपनि अधिकांशले आफैलाई मतदान गर्न पाउने छैनन् । ५ राजनीतिक दल र २ स्वतन्त्र उम्मेदवार बाहेक अरुले आफुलाई मत दिन नपाउने भएका हुन् । नेकपा उम्मेदवार विद्या भट्टराईले पोखरा ३३ बाट मतदान गर्नेछिन् भने साझा पार्टीकी रजनी केसीले पोखरा ४ बाट मतदान गर्नेछिन् ।
राप्रपाका रोमबहादुर भण्डारीले पनि आफैलाई मत दिन पाउनेछन्् । उनले पोखरा १५ बाट मतदान गर्नेछन् । यस्तै, नेकपा मालेका टेकनाथ भण्डारी पनि आफैलाई मतदान गर्न पाउने भाग्यमानी हुन् । उनले पोखरा २१ बाट मतदान गर्ने छन् । राप्रपा संयुक्तकी गंगा मल्ल पोखरा ७ कि मतदाता हुन् ।
स्वतन्त्र उम्मेदवारी दिएका सुनिलबहादुर कोइराला र रनबहादुर दमैले पनि आफुलाई मतदान गर्न पाउने छन् । कोइरालाले पोखरा ४ र दमैले पोखरा १७ बाट मतदान गर्ने छन् । काँग्रेस उम्मेदवार खेमराज पौडेल कास्कीकै भएपनि उनी क्षेत्र नम्बर ३ का स्थायी बासिन्दा हुन् । काँग्रेस बीपीका चन्द्रबहादुर रानाभाट क्षेत्र नम्बर १, देशभक्त समाजका विरबहादुर विक कास्की र समाजवादी पार्टीका धर्मराज गुरुङ कास्की ३ का स्थायी बासिन्दा हुन् । उनीहरुको मताधिकार समेत उतै छ ।
Photo-Radhika Kandel