ललित गुरुङ सहित १० जना जेल चलान

पोखरा, साउन ७ ।
गुण्डागर्दी, हप्ता असुली र मिटर ब्याजमा संलग्न भएको भन्दै कास्की प्रहरीले १० जनालाई जेल चलान गरेको छ । तीनसाता अघि १५ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले तिमध्ये १० जनालाई जेल पठाएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले गरेको फैसला अनुसार ललित गुरुङ लाई ६ महिना कैद सजाय र पच्चिस हजार जरिवाना तोकेको छ । यस्तै, चन्द्र गुरुङ, धनकुमार पुर्जा, कृष्ण रोकामगर, महेश अर्याल, प्रकाश गुरुङ, शनिराज डंगोल, पुनम गुरुङ, सरोज चापागाईलाई ४–४ महिना कैद सजाय र २५ हजार जरिवाना तोकेको छ भने सुमन श्रेष्ठलाई २ महिना जेल सजाय र २० हजार जरिवाना फैसला सुनाइएको हो ।

पक्राउ परेका मध्ये बिजय रानाभाट र नवीन गुरुङ यसअघि नै छुटिसकेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारले सो कैद सजाय निर्णय गरेका हुन् ।

यसैबीच, सजाएँ सुनाईएकाहरुलाई भेट्न गएकाहरुलाई पनि कास्की प्रहरीले पक्राउ गरी तारेखमा छोडेको छ । ‘मुद्धा फैसला गर्ने बेलामा होहल्ला गरे भनेर पक्राउ गरिएको हो । राती नै छोडिसकिएको छ, एसपी ओम रानाले भने–तारेखमा बोलाएका छौं । अनुसन्धान भैरहेको छ ।’