लमजुङमा युवा संघका उपाध्यक्षले कार्यकक्षमै कुटे नगरपालिकाका कर्मचारी

लमजुङ, पुस १६ ।
जिल्लाको सुन्दरबजार नगरपालिकाका लेखापाल श्यामबहादुर पराजुली कार्यकक्षमै कुटिएका छन् । युवा संघ सुन्दरबजारका उपाध्यक्ष नवीन श्रेष्ठले नगरपालिकाका लेखापाल पराजुलीलाई कार्यकक्षमै कुटपिट गरेका हुन् । सुन्दरबजार अस्पतालको औषधीको टेण्डरको विषयलाई लिएर पटक–पटक लेखापाललाई धम्काउँदै आएका श्रेष्ठले सोमबार बिहान सवा ११ बजे कार्यालयमै पसेर कुटपिट गरेको पीडित पराजुली बताउँछन् ।

पराजुलीको अनुहारमा चोट लागेको छ । ‘नविनले मलाई नटेर्ने तैंले भनेर कुट्न थाले’ उनले भने, ‘अन्धाधुन्द कुटाईले मेरो शरीर थिलो थिलो भएको छ ।’ लमजुङ जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा उपचार भइरहेको छ । श्रेष्ठले लेखापालसँगै नगरपालिकाका नायब सुब्बा होमनाथ पौडेललाई समेत हातपात गरेका थिए । पराजुली गत फागुनदेखि सुन्दरबजार नगरपालिकामा लेखापालको रुपमा कार्यरत छन् ।

सुन्दरबजार अस्पतालले औषधीसम्बन्धी २६ लाख ५० हजार रुपैयाँ बराबरको टेण्डर आह्वान गरेको थियो । उपाध्यक्ष श्रेष्ठ अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए । सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्रले उक्त घटना अमाननीय भएको भन्दै घटनाको दोषीलाई हदैसम्मको कानुनी कारबाही हुनुपर्ने बताए ।

घटनालाई लिएर निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियन केन्दी्रय कार्य समितीका कार्यालय सचिव पुरुषोतम भट्टद्धारा हस्ताक्षर गरि जारी गरिएको प्रेस विज्ञप्ती मार्फत निज श्रेष्ठलाई कारबाहीको माग गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘निजामती कर्मचारीहरुको समायोजन प्रक्रिया समेत भइरहेको यस ऐतिहासिक समयमा नेपाल र नेपाली जनताको सेवामा कार्यरत निज लेखापालमाथि गरिएको अमानवीय जंगली शैलीप्रति यस समिती घोर आपत्ती प्रकट गर्दछ ।’