लमजुङको दोर्दिखोलामा बाढी–३ जनाको मृत्यु, ११ जना बेपत्ता

लमजुङ, साउन ८ ।
लमजुङको दोर्दीखोलामा आएको बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो एक्कासी आएको बाढीले निर्माणाधीन दोर्दीखोला जलविद्युत आयोजनाका कामदार र स्थानीयलाई बगाएको हो ।

दोर्दीखोलाले बगाएर ल्याएको दुई शव दोर्दी गाउँपालिका ४ नौथर शेरा नजिकै भेटिएको थियो भने अर्को शव पनि नजिकै भेटिएको थियो । ११ जना अझै बेपत्ता रहेका लमजुङका डीएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

बुधबार दिउँसो ३ बजेतिर ढोडेनीमाथि लेकबाट एक्कासी पहिरो आएको र त्यसक्षेत्रका स्थानीय भागाभाग भएको स्थानीयले बताएका छन् । दोर्दीखोलामा निर्माणधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनामा क्षति पु¥याएको छ ।

दोर्दी गाउँपालिका ६ का वडाध्यक्ष नन्दराज घलेले बाढीले १५ जना बढी घाइते भए पनि के कति क्षति पुगेको छ भन्ने बारेमा एकिन जानकारी नभएको बताए । घटनाको क्षति विवरण आउन बाँकी छ ।