लक्ष्य ब्याण्डको अन्तराष्ट्रिय यात्रा

पोखरा, मंसिर २६ ।
पोखरा, आँफैमा सांगीतिक भूमी । संगीतकर्मीले सिञ्चेको यो पोखरा अझै फराकीलो बन्दैछ । पोखरामा बसेर आधुनिक संगीतबारे कसैले सोच्यो भने एउटा नाम सजिलै आउँछ, लक्ष्य ब्याण्ड । अझै पूराना संगीतको संरक्षणसँग यो ब्याण्डको छुट्टै सम्बन्ध छ । पोखराको पहिचान गर्विलो छ । विश्वमा हरेकले हरेक हिसावबाट पोखरालाई चिन्छन् । त्यो मध्ये आधा मानिसले संगीतसँग पोखरालाई जोड्छन् ।
अहिले पोखरालाई एउटा चुनौति छ, यहाँको संगीत रक्षा । पुस्ता हस्तान्तरण नभएकै कारण नेपाल र विशेषगरी पोखराको संस्कृति लोप हुने अवस्थामा छ । युवा पुस्ताको आकर्षण खासै छैन, पूराना संगीतमा छ । तर एउटा यस्तो समूह छ पोखरामा, जसले पूराना संगीतको संरक्षण र प्रबद्र्धनको काम गरिरहेको छ । एउटा समुदाय, गन्धर्व भनेपछि देशले चिन्छ–संगीतमा जोडेर । त्यही समुदाय संगीतबाट टाढा भागिरहेका बेला युवाहरुले पुनर्मिलन गराउँदैछन् । लक्ष्य ब्याण्ड नेपालका पूराना बाजाहरुको प्रबद्र्धमा निरन्तर लागिरहेको छ । ‘संगीतमार्फत समाज सेवा गर्नु हाम्रो लक्ष्य हो । त्यसैले समाज सुधारका लागि हामीले सकेको योगदान गर्छौं, ब्याण्डका संयोजक धिरज गुरुङ भन्छन्–सुरुमा थुप्रै चुनौति आए । अहिले पोखरामा नाम लिने एउटै ब्याण्ड बन्यो, लक्ष्य ।’
उनले लोप हुन लागेका बाजा र पूराना संस्कृतिलाई गीत संगीत मार्फत राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पनि पहिचान गराउन ब्याण्ड स्थापना गरेको बताए । ‘पैसा कमाउने हाम्रो योजना होईन । नेपाली कल्चर प्रोमोसन मुख्य लक्ष्य हो, उनले थपे–त्यसकै लागि देशका विभिन्न शहरहरुमा हामीले धेरै कार्यक्रम गरिसकेका छौं । अव अन्तराष्ट्रिय रुपमा स्थापित हुने योजना छ ।’ पोखराको एउटा कुनामा जन्मेको लक्ष्य ब्याण्ड अहिले भारत भ्रमण छ । संगीतलाई माया गर्ने युवाहरु मिलेर २०७० मा खोलिएको यो ब्याण्डले छोटो समयमा धेरै ठूलो सफलता पायो । मेहिनतको फल–भारतको देहरादुनमा हुन लागेको हिमोतसवमा नेपालको प्रतिनिधीत्व गरेर यो ब्याण्ड भारत यात्रामा छ ।
‘यो हाम्रो प्रोमोशनल कार्यक्रम हो । र अन्तराष्ट्रिय स्तरको पहिलो पनि, धिरजले भने–नेपालकै प्रतिनिधी बनेर भारत जान पाउँदा गर्व लागेको छ । नेपालको कला र संस्कृति चिनाउने मौका पायौं ।’ भारतको देहरादुनमा डिसेम्बर १५ देखि १७ सम्म हुने हिमोत्सव (हिमालयन देशहरुको सांस्कृतिक प्रश्तुती) मा नेपालबाट लक्ष्य ब्याण्ड सहितको टीम भारततर्फ लागेको छ ।
धिरज गुरुङको नेतृत्वमा रहेको लक्ष्य ब्याण्डमा रञ्जन गायक, विवेक गायक, समिर गायक, पुष्कल गायक, सुदीप गायक, अशोक गायक लगाएत छन् । नेपालको टिपीकल बाजाहरु बाँसुरी, मादल, धिमे, दमाह, खिँ, अर्वाजो, सारङ्गी, पक्र्युसन लगाएतका बाजा हिमोत्सवमा प्रश्तुत हुने ब्याण्डले जनाएको छ । नेपालमा भूकम्प, बाढी पहिरो लगाएतका महाविपत्तीमा ब्याण्डले सांगीतिक कार्यक्रम मार्फत सहयोग गर्दै आएको छ । त्यसबाहेक विभिन्न विद्यालयहरुमा विद्यार्थीलाई नेपाली बाजाहरु बारे जानकारी गराउने काम पनि गरिरहेको छ । दुई देशबीचको कला र संस्कृति साटासाट गर्ने र सम्बन्ध विस्तार गर्ने उद्देश्यले महोत्सव हुन लागेको हो ।