रेशम चौधरीले गरे आत्मसमर्पण, अदालतमा बयान सुरु

कैलाली, फागुन १४ ।
टीकापुर घटनाका फरार अभियुक्त सांसद रेशम चौधरीले आत्मसमर्पण गरेका छन् । लामो समयदेखि फरार रहेका चौधरीले आज बिहान ११ बजे जिल्ला अदालत कैलालीमा आत्मसर्पण गरेका हुन् । चौधरी आज जिल्ला अदालत कैलालीमा हाजिर भएका हुन् । अहिले कैलाली जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ । उनी फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार बनी भारी मतले निर्वा्चित भएका थिए । तर, निर्वा्चित भए पनि उनले अहिलेसम्म जितेको प्रमाणपत्र पाएका छैनन् ।
वारेसमार्फत विजयी भएको प्रमाणपत्र पाउनुपर्ने माग गर्दै चौधरी सर्वोच्चसम्म पुगे पनि उनको मागअनुसार आदेश भएन । ७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या भएको थियो । घटनाको मुख्य योजनाकार चौधरी भएको दाबी गर्दै मुद्दा परेपछि उनी फरार छन् । चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् । घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका अर्का थारु नेता लक्ष्मण चौधरी भने अहिले जेलमै छन् । जिल्ला अदालतमा उनको बयान सुरु भएको छ ।