रेलमार्ग केरुङ होईन कोरलाबाट ल्यानुपर्छ–मुख्यमन्त्री गुरुङ

पोखरा, जेठ १५ ।
प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको प्रश्तावित रेलमार्ग कोरलाबाट ल्याउनुपर्ने बताएका छन् । यसअघि सरकारले केरुङबाट काठमाण्डौं हुँदै पोखराबाट लुम्बिनीसम्म रेलमार्ग विस्तार गर्ने योजना अघि सारेको थियो । तर उनले यो मार्ग उल्टो भएको भन्दै कोरला उपयुक्त हुने दावी गरे । ‘केरुङबाट काठमाण्डौं हुँदै पोखराबाट लुम्बिनीसम्म विस्तार गर्दा उल्टो बाटो पर्छ । कोरलाबाट ल्याउँदा भुगोल सजिलो छ, उनले भने–पोखरा झारेर काठमाण्डौं र लुम्बिनी लैजाँदा खर्च पनि कम लाग्छ । सरकारले मोडल चेन्ज गर्नुपर्छ ।’ मुख्यमन्त्री गुरुङले प्रदेश सरकारको हातखुट्टा बाँधेर काम गर्न नसक्ने बताएका छन् ।

‘काम सबै हामीले गर्नुपर्ने माथीका चाहीँ श्रीपेच लगाएर आउने किन ?, उनले प्रश्न गरे–साना कुरामा पनि केन्द्रको मुख ताक्नुपर्ने हो भने यो संघीयता नै होईन । गणतन्त्रमा पञ्चायतको शैलि निकाल्न मिल्दैन ।’ उनले पोखराबाट मनाङसम्म सुरुङमार्गले जोडेर हिउँ स्केटिङको प्रवद्र्धन गर्नुपर्ने, अन्तराष्ट्रिय स्तरको पार्क निर्माण गर्नुपर्ने लगायतका योजना अघि सारे । यस्तै पोखराका ९ तालको कनेक्टिभिटीमा लगानी बोर्डको जोड रहनुपर्ने सुझाव दिए । उनले प्रधानमन्त्रीलाई पूरा हुने कामलाई प्राथमिकता दिन पनि आग्रह गरेका छन् । ‘फेवातालमा पानीजहाज चलाउने उडन्ते कुरा गरेर हुँदैन । पोखराको तालहरुलाई कनेक्सन गर्ने, फाष्ट ट्रयाक बनाउने र मोनोरेल चलाउने कुरा सम्भव छ, उनी भन्छन्–यसले महत्वपूर्ण प्रडक्ट थपिन्छ र टुरिष्टको फ्लो बढ्छ । हामीलाई केन्द्र सरकारको सहयोग चाहिएको छ ।’