रेमिट्यान्समा नेपालको निर्भरता बढ्यो, तेश्रोबाट सीधै पहिलो मुलुक

काठमाण्डौं, माघ १९ ।
नेपाल रेमिट्यान्समा सबैभन्दा बढी निर्भर हुने मुलुक बनेको छ । विश्व बैंकको अध्ययन अनुसार नेपाली अर्थतन्त्रको सबैभन्दा ठूलो हिस्सा रेमिट्यान्समा अडिएको छ । अरु मुलुकमा चाहीँ रेमिट्यान्सको निर्भरता घटाउँदै लगेका छन् । जनशक्ति निर्यात गरेर आयात गरिने रकम नै रेमिट्यान्स हो ।
बर्सेनी करिब १० खर्ब रुपैयाँका सामान तथा सेवा विदेशबाट पैठारी गर्ने नेपालले रेमिट्यान्स भने मुस्किलले सात खर्ब मात्रै भित्र्याउँछ । विश्व बैंकको रिपोर्टअनुसार नेपालको जीडीपीमा रेमिट्यान्सको योगदान ३१ दशमलव तीन प्रतिशत छ । सन् २०१६मा नेपालको जीडीपीको आकार २१ दशमलव एक खर्ब थियो । त्यसमध्ये एकतिहाइ हिस्सा रेमिट्यान्सको छ । अध्ययनको आधार वर्षमा नेपालले ६ दशमलव ६ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्र्याएको थियो ।
यसअघि सन् २०१५मा ताजिकिस्तानको जीडीपीमा रेमिट्यान्सको योगदान सबैभन्दा धेरै ४२ प्रतिशत थियो । २९ प्रतिशत हिस्साका साथ नेपाल त्यतिबेला तेस्रो स्थानमा थियो । अहिले ताजिकिस्तान तेस्रो स्थानमा ओर्लिएको छ । उसको जीडीपीमा रेमिट्यान्सको योगदान २६ दशमलव नौ प्रतिशत छ । दोस्रोमा किर्गिस्तान छ, जसको जीडीपीमा रेमिट्यान्सको हिस्सा ३० दशमलव चार प्रतिशत छ ।
सन् २०१६मा किर्गिस्तानले दुई खर्ब र ताजिकिस्तानले एक खर्ब ९० अर्ब रुपैयाँ रेमिट्यान्सका रुपमा भित्र्याएका थिए । यस्तै, हाइटी र लाइबेरियासहित अन्य नौ मुलुकले जीडीपीको अनुपातमा १५ देखि २५ प्रतिशतसम्म रेमिट्यान्स भित्र्याएको विश्व बैंकको रिपोर्टमा उल्लेख छ ।