रेडलाइट एरिया किन ? (यस्तो छ मुख्यमन्त्री गुरुङको प्रतिक्रिया)

पोखरा, असोज २ ।
यो अहिलेको प्राथमिक एजेन्डा त हुँदै होइन । यो तत्कालै नगरे पनि प्रदेशलाई केही फरक पर्दैन । मेरा प्राथमिकता र योजना त अरु नै कति छन् कति । यो ५ वर्षभित्र गर्नुपर्ने थुप्रै एजेन्डा छन् । मैले पर्यटन क्षेत्रको विकास गर्नुपरेको छ । ऊर्जा, कृषि क्षेत्रको आधुनिकीकरण गर्नुपरेको छ । औद्योगीकरणमा जोड दिनुपरेको छ । सडक मार्ग बनाउनुपरेको छ, केबुलकार बनाउनु छ, एकेडेमी चलाउनुपर्ने छ, समग्रमा प्रदेशलाई समृद्धिसँग जोड्नु छ । यी सबै काम गर्न सुशासनमा जोड दिनु छ । त्यो नीति तथा कार्यक्रममा छ । यी सबै कुरा हुँदाहुँदै पनि अब यो रेडलाइट एरिया राख्नुपर्छ कि पर्दैन ? अबको १० वर्षपछिको विषय हुन सक्ला ? तर अहिले पनि यो धन्दा अव्यवस्थित रुपमा चलिरहेको छ भने बहसको थालनी हुनुपर्छ कि पर्दैन ?

मैले चीनको उदाहरण दिएको थिएँ । चीन एउटा समाजवादी मुलुक हो । कम्युनिस्ट भन्ने साथीहरुलाई भनेको थिएँ, चीन कम्युनिस्ट हो कि होइन ? सी जिन पिङ कम्युनिस्ट नेता हुन् कि होइनन् ? चीनमा उनीहरुले आजभन्दा १५÷२० वर्ष अगाडि ठूलो छलफल चलाए, रेडलाइट एरिया तोक्नुपर्छ कि पर्दैन, पर्छ भने कसरी गर्ने, कहाँ गर्ने भनेर । हामीले अब बहस चलाउनुपर्छ भनेको हुँ । यसका धेरै आइडिया छन् । पहिलो पूर्णरुपमा यौनधन्दालाई प्रतिबन्ध लगाउने, दोस्रो नियमन गर्ने, तेस्रो यसलाई अपराधीकरण गर्ने, चौथो रेडलाइट एरिया बनाएर व्यवस्थित गर्ने । निर्णय गर्न १० वर्ष लाग्ला तर कुन चाहिँ गर्दा ठीक हुन्छ भनेर छलफल त गरौं भनेको हुँ ।

हाम्रोमा जुवा खेल्ने भनेको पनि अनैतिक हो भनिन्छ । कतिपय देशको क्यासिनो इकोनोमी भइसक्यो । नेपालीका घर, परिवार नबिग्रने गरी वा नेपालीलाई प्रतिबन्ध नै लगाएर अर्बपतिहरु यहाँ आएर खर्च गर्छन् भने हामी किन टाउको दुखाउने ? हामीले क्यासिनो प्रबन्ध गरौं न । हामीले त्यो नगरे अरुले गर्छ । मैले डाँडाडाँडामा रिसोर्ट खोलौं, त्यहाँ क्यासिनो चलाऊँ, विभिन्न इभेन्ट गरौं पनि भनेको छु । अमेरिकाको लास भेगास मोडलको ठाउँ बनाऔं न हाम्रो सराबकोटलाई । नेपाललाई नोक्सान हुन्छ भन्ने मलाई लाग्दैन । क्यासिनो खोलेर नियमन गर्नुप¥यो, नियन्त्रण गर्नुप¥यो । सिंगापुर काठमाडौं भ्यालीजत्रो सानो टापु हो, त्यहाँ ७ हजार बहुराष्ट्रिय कम्पनी रहेछन् ।

८३ हजार डलर रहेछ प्रतिव्यक्ति आय । हाम्रो यहाँ त्यति बहुराष्ट्रिय कम्पनी ल्याउने भन्ने हो भने सप्पै नेपाल सकिन्छ, सप्पै विदेशीले लुटे, साम्राज्यवादीहरु आए भनिन्छ । म त भन्छु हाम्रो गण्डकी प्रदेशमा पनि आउन चाहन्छन् भने ७ त के ८ हजार बहुराष्ट्रिय कम्पनी ल्याउनुपर्छ । हामीले यस्ता कुराबाट पनि सिक्नुपर्ने होला नि । हाम्रो सोच कहाँ छ ? हरेक कुरालाई नकारात्मक दृष्टिलेमात्रै नहेरौं भनेको हुँ मैले । रेडलाइट एरियाको विषयमा पनि बहस गरौं । रेडलाइट एरिया नबनाउने हो भने यौनधन्दालाई प्रतिबन्ध नै लगाउने, अपराध नै हो भने १०, १५, २० वर्ष कति वर्षको सजाय हुनु पर्ने हो त्यो व्यवस्था गर्ने व्यवस्था ल्याऔं भनेको हुँ । होइन भने अहिलेको पोखराकै हालत हेर्नुहोस् त । बहस सुरु गरौंभन्दा धेरैजना महिला खनिनु भएको छ ।

ए हो, हाम्रा मुख्यमन्त्रीले चेलिबेटी बेचेर कर लिने रे भनेर आज हल्ला गरिएको छ । मैले त्यसो भनेकै छैन । म चेलीबेटीप्रति सम्मान गर्छु । यो महिलासँगमात्रै जोडिएको विषय होइन । यो पुरुषसँग पनि जोडिएको विषय हो । आज यौन व्यवसाय महिलाले मात्रै गर्दैनन्, पुरुषले पनि गर्छ, तेस्रो लिगींहरु पनि होलान् । युनएनडिपीले गरेको अध्ययन अनुसार नेपालमा १ लाख पुरुष यौन व्यवसायी छन् । काठमाडौंमात्रै १५ हजार र पोखरामा त्यो संख्या ५ हजार छ भन्छ अध्ययनले । यसले समाजमा कति विखन्डन ल्याएको छ ? सम्बन्ध बिच्छेदका घटनासमेत यसबाट प्रभावित छ । समाजमा एड्स र क्यान्सर रोगजस्तै भएर यो कुरा आइसक्यो भने अब समाजलाई ग्रस्त गराउने कि बहसको थालनी गर्ने, व्यवस्थित गराउने ? खुला दिलले बहस गरौं भनेको हुँ ।–समाधान दैनिकबाट