रुपातालका जग्गाधनीलाई राहात–अधिग्रहण गर्ने जग्गाको पुनः मुल्याकंन हुने

पोखरा, साउन २९ ।
पोखराको रुपाताललाई आकार बढाउने योजना कार्यान्वयनमा छ । २ बर्षदेखि सुरु भएको योजनामा अहिले जग्गा अधिग्रहण गर्ने काम सुरु भएको छ । तर जग्गाधनीहरुले मुआब्जा कम भएको भन्दै गुनासो गरेका छन् । उनीहरुले लिखित रुपमै उजुरी समेत दिएका थिए । सरकारले जग्गाधनीको गुनासो सुनुवाई गर्दै जग्गाको पुनः मुल्यांकन गर्ने भएको छ ।

मुअब्जाकै कारण अहिले बाँध निर्माणको काम पनि रोकिएको छ । बाँध निर्माण गर्ने ठाउँकै जग्गा अधिग्रहण गर्नुपर्ने भन्दै मुआब्जा टुंगिएपछि मात्रै काम अघि बढ्ने आयोजना प्रमुख रामप्रसाद अर्यालले जानकारी दिए । सरकारले बाटो पुगेको ठाउँका जग्गालाई प्रतिरोपनी १२ लाख ९२ हजार र बाटोले नछोएको जग्गालाई ८ लाख ६२ हजार रुपैयाँ प्रति रोपनीका दरले मुआब्जा दिने निर्णय गरेको थियो ।

स्थानीयले आफुमाथी अन्याय भएको गुनासो सहित सम्बन्धित निकायमा निवेदन दिएका थिए । संघर्ष समिति नै गठन गरेर उनीहरु आन्दोलनमा छन् । उनीहरुले प्रतिरोपनी ५० लाख रुपैयाँ मुआब्जा पाउनुपर्ने माग राखेकाा छन् ।

१ सय ४ हेक्टर तालको क्षेत्रफल आयोजना पूरा भएपछि १ सय ७४ हेक्टर पुग्नेछ । २०३२ सालको नापी अनुसार १ सय ३५ हेक्टर क्षेत्रफल रहेको रुपाताल प्राकृतिक र मानवीय अतिक्रमणले साँघुरिएको जानकारहरु बताउँछन् ।