रुपाको नीति कार्यक्रम–बाँझो जमिनलाई दोब्बर कर, काठेपोल विस्थापन

रुपाकोट, असार ८ ।
युवालाई खेती किसानीमा आकर्षित गर्दै कास्कीको रुपा गाउँपालिकाले जग्गा बाँझो राख्नेसँग दोब्बर बढी कर असुल्ने तयारी गरेको छ । आगामी आर्थिक बर्षदेखि खेती गरिएका जमिनमा भन्दा बाँझो जमिनबाट दोब्बर बढी कर उठाईने अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

‘बाँझो जमिनलाई भूमी बैंक मार्फत जग्गा लिजमा लिएर किसानलाई खेती गर्न दिने हो । जग्गा चक्लाबन्दी गर्न ५० प्रतिशत अनुदान दिने निर्णय गरेका छौं,’ उनले भने, ‘चक्लावन्दी गरेको जग्गामा अनिबार्य रुपमै व्यावसायिक खेती गर्नुपर्छ । गाउँपालिकाभित्रका खेतीयोग्य जमिन बाँझो राखे दोब्बर बढी कर लिईने छ ।’

यूवालाई कृषिमा आकर्षित गर्नका लागि गाउँपालिकाले विना धितो न्यून ब्याजदरमा सामुहिक ऋण उपलब्ध गराउने छ भने पेशा अनुसारको तालिम समेत दिने छ । विदेशिएका युवालाई रोक्ने र विदेशबाट फर्केका युवाको सीपको उपयोग गरि कृषिमा आत्मनिर्भर हुने कार्यक्रम गाउँपालिकाले अघि सारेको उनले सुनाए ।

‘आगामी बर्षलाई कृषिको लागि विशेष बर्षको रुपमा मनाईने छ । एक गाउँ एक उत्पादन कार्यक्रम अगाडी बढाईने छ । पूर्ण भकारो सुधारयुक्त गाउँपालिका घोषणा गरिनेछ,’ आगामी बर्षको नीति कार्यक्रम सार्वजनिक गर्दै ओझाले भने, ‘किटनाशक औषधी र विषाधीको प्रयोगले जनस्वास्थ्यमा ठूलो असर गरिरहेको छ । यसलाई रोक्न अर्गानिक खेती गर्ने किसानलाई मात्रै अनुदान दिने ब्यवस्था मिलाईएको छ ।’

१० टन क्षमताको चिस्यान केन्द्र बनाएर त्यहाँबाट बजारसम्म निशुल्क ढुवानी गाउँपालिकाले ब्यहोर्ने उनको भनाई छ । आगामी आर्थिक बर्षमा सकेसम्म नयाँ ट्रयाक नखन्ने र पूरानै ट्रयाकलाई स्तरोन्नतीमा ध्यान दिने गाउँपालिकाको नीति छ ।

गाउँपालिकाभित्रै १५ शैयाको अस्पताल बनाउने र त्यहाँबाट उपचार हुन नसके पोखरासम्म विरामी लैजाँदाको एम्बुलेन्स खर्च गाउँपालिकाले ब्यहोर्ने, प्रत्येक टोल विकास संस्थालाई कम्तिमा एउटा स्ट्रेचर उपलब्ध गराउने, वडा नम्बर २ र ३ मा स्वास्थ्य चौकी स्थापना गर्ने, एक घर एकधारा अभियानलाई पूर्ण कार्यान्वयन गर्ने र आगामी ५० बर्षसम्मको लागि खानेपानीको जोहो मिलाउने ओझाले बताए ।

आगामी बर्ष पालिकाभित्रका ३ वटा स्कुललाई प्राविधिक विद्यालयको रुपमा विकास गर्ने, अन्तराष्ट्रिय शान्ति पार्क बनाउने, उपाध्यक्षसँग महिला कार्यक्रम सञ्चालन गर्ने, वडा नम्बर १ मा अन्तराष्ट्रिय स्तरको बिच भलिवल कोर्ट निर्माण गर्ने कार्यक्रम छ । यस्तै, आगामी आर्थिक बर्षभित्रमा गाउँपालिकाका सबै काठेपोल विस्थापन गरिसक्ने बताईएको छ ।