रुपाकोट महिला सहकारीमा गीमायाकाे निरन्तरता

पोखरा, पुस २९ ।
रुपाकोट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारण सभा तथा छैठौं अधिबेशनले पुनः गीमाया गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कमला गुरुङ, सचिवमा सबिना आले, कोषाध्यक्षमा पवित्रा खड्का, सहसचिवमा देवी गुरुङ, सदस्यहरूमा सीता सुंयाल, पूनम केसी, सुलोचना अधिकारी, मिनु गुरुङ, हाकिमा मिंया निर्बिरोध चयन भए ।

यस्तै, लेखा समितिको संयोजकमा सुशीला थापा र सदस्यमा चन्द्रमाया अधिकारी चयन भएका छन् । यसअघि साधारणसभा एवम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तथा रुपा गाउँपालिकाका वडा सदस्य क्या.हर्कबहादुर गुरुङले महिलाहरुलाइ सहकार्य, आयआर्जन र गाउँ बिकासप्रति अग्रसर गराउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा ७० बर्ष भन्दा जेष्ठ १३ जना महिला सदस्य र नियमित बचत समूह दीपज्योति समुहलाइ सम्मान गरिएको थियो ।