रुपाकोटबाट हिमाल हेरेर बंगलादेशी राष्ट्रपति हमिद दंग, फोटोमा हेर्नुस हमिदको पोखरा भ्रमण

पोखरा, कार्तिक २९ ।
नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पोखरा आउने कार्यक्रम पहिले नै तय भैसकेको थियो । त्यहाँ उनको सेडुल थियो, कुनै डाँडाबाट हिमाली श्रृंखलाको अवलोकन गर्ने । नजिकबाट प्रकृतिलाई नियाल्ने र शान्तसँग समय विताउने । प्रदेश सरकारले रुपाकोटबाट हिमाल देखाउने निधो ग¥यो र सोही अनुसार कार्यक्रम तय भयो ।

विहिबार मध्यान्न १२ बजेतिर पोखरा विमानस्थल ओर्लिएका उनलाई प्रदेश प्रमुख अमिक शेरचन, प्रदेशका कार्यबहाक मुख्यमन्त्री किरण गुरुङ, अन्य मन्त्रीहरु, विपक्षी दलका नेता, केही सांसदहरु, सुरक्षा निकायका प्रमुखहरु र उच्च पदस्थ ब्यक्तिहरुले स्वागत गरे । पञ्चकन्याले उनलाई फूलको गुच्छा दिएर पोखरा भित्र्याए ।

हमिद त्यहाँबाट फेवातालतिर लागे । करिब ४० मिनेट डुंगा सयर गरेपछि उनले डेढघण्टाभन्दा बढी फिस्टेल लजमा विताए । प्रदेश सरकारले उनका लागि दिवाभोजको ब्यवस्था फिस्टेल लजमै मिलाएको थियो ।

त्यही हेलिकोप्टर चढेर उनी रुपाकोट रिसोर्ट पुगे । हमिदलाई त्यहाँ प्रदेशका आन्तरिक मामिला मन्त्री हरि चुमान र भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले स्वागत गरे । विभिन्न जातजातिका मौलिक संस्कृति र झाँकीले उनको स्वागत गरिएको थियो ।

सोेरठी, मारुनी, लाखे नाच, घाटु नाच देखाईएको थियो भने अग्रभागमा मुश्लिम समुदायले स्वागत र विदाइ गरेका थिए । रिसोर्टमा रहुञ्जेल उनले हिमाल हेरेरै बिताए ।

कुराकानीका क्रममा राष्ट्रपति हमिदले पोखराको पर्यटकीय क्षेत्रको खुलेर प्रशंसा गरेका थिए । उनले बंगलादेशका पर्यटकहरु नेपाल आउन चाहेका र त्यसमा पनि पोखरा उनीहरुको रोजाईमा परेको बताएका थिए । विल्कुलै अनौपचारिक भ्रमण भएकाले उनले औपचारिक बक्तब्य भने दिएनन् ।

उनको भ्रमणलाई गण्डकी सरकारले निकै महत्वका साथ हेरेको कार्यबहाक मुख्यमन्त्री किरण गुरुङले बताए । ‘सहयोग लिनेदिने भन्दा पनि राष्ट्रपति ज्यूको भ्रमण सफल बनाउने र वहाँलाई सन्तुष्ट पार्ने कुरामा बढी जोड भयो । कुराकानीमा वहाँले धेरै भन्दा धेरै पर्यटक नेपाल र त्यसमा पनि पोखरा आउन चाहेको बताउनुभयो,’ गुरुङ भन्छन्, ‘एकदम रिल्याक्स गर्ने खालको आम साथीभाइ भेटघाट हुँदा गर्ने खालकै अनौपचारिक कुरा भएको हो । औपचारिक कुरा केही भएन ।’

पर्यटनबाट समृद्धीको सपना देखेको प्रदेशको पर्यटन प्रबद्र्धनमा राष्ट्रपति हमिदको भ्रमण निकै फलदायी हुने उनको विश्वास छ । हमिदले पोखरामै रात विताउन चाहेपनि भ्रमण तालिका नमिलेका कारण सफल नभएको गुरुङले सुनाए ।

‘एकरात भएपनि यतै विताउन चाहेको बताउनुभएको थियो । तर समय मिलेन,’ उनी भन्छन्, ‘काठमाण्डौं फर्किएर पनि पोखराबारे राम्रो सन्देश पठाउनुभएको छ । खुशी ब्यक्त गर्नुभएको छ ।’ गृहमन्त्री हरिबहादुर चुमानका अनुसार रुपाकोटमा रहँदा उनले पोखरा र समग्र नेपालकै प्राकृतिक सुन्दरताको प्र्शंसा गरेका थिए ।

‘नजिकबाट हिमाल हेर्नुभयो । निकै सन्तुष्टी मान्नुभयो,’ उनले भने । उनले धेरै बोलेनन् तर भरपुर आनन्द लिए । करिब साढे ४ घण्टा घुमेर उनी काठमाण्डौं फर्किएका हुन् । हमिद शुक्रबार बंगलादेश फर्कने कार्यक्रम छ । यो समाचार पत्रकार प्रकाश ढकालले आदर्श समाज दैनिकका लागि लेखेका हुन् ।