राष्ट्रिय सभाको निर्वाचन नभएसम्म सरकार छाड्दैनौं-कानून मन्त्री थापा

काठमाडौँ, पुस ४ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नछाड्ने बताएका छन् । मन्त्री थापाले यो चुनावी सरकार भएको प्रष्ट पार्दै राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गरेर सरकार छाड्ने बताए । उनले निर्वाचन आयोगले पूर्ण मत परिणाम अझै सार्वजनिक नगरिसकेको चर्चा गर्दै नयाँ सरकारको गठन प्रक्रिया पु¥याएर मात्र छाड्ने बताए । उनले भने, “प्रधानमन्त्रीले मलाई धेरै दबाब आयो भनेर पद छोड्छु भन्न पाउनु हुन्न ।”
राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि आफूहरु सरकार छोड्न तयार रहेको उनले बताए । उनले दुई महिनाअघि राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको बताउँदै अहिलेसम्म स्वीकृति नदिनु दुःखद भएको गुनासो गरे । मन्त्री थापाले अध्यादेश संविधानसम्मत रुपमा राष्ट्रपतिसमक्ष पठाएको भन्दै त्यसलाई स्वीकृत गर्नुको विकल्प राष्ट्रिपतिसँग नभएको बताए ।
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले र माओवादी केन्द्रबीच एकता र सरकार गठनबारे आन्तरिक छलफल शुरु भइरहेकाले सहमतिमै सबै कुरा टुङ्गो लगाउने बताए । रावलले भने, “हामीले दुई पार्टीलाई एकीकरण गर्न एकता प्रक्रिया शुरु गरिसकेको तथा एकताका लागि हामी बैठक बसिरहेका छौँ । त्यस्तै, संयोजन समिति निर्माण गर्ने प्रक्रियामा छौँ । पार्टी एकता गर्दा हामी केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका पार्टी कमिटीलाई समायोजन गरेर जान्छौँ ।” राष्ट्रिय सभाको निर्वाचन बहुमतका आधारमा नै गर्ने स्पष्टरुपमा नेपाली काँग्रेससँग समझदारी भएको उल्लेख गर्दै अहिले सरकारले राजनीतिक सहमति विपरीत राष्ट्रिय सभाको निर्वाचनबारे कुरा उठाउनु अनुचित भएको उनको तर्क थियो । नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले मार्ग प्रशस्त नगर्दा प्रजातान्त्रिक मूल्य र मान्यताप्रतिको निष्ठालाई कमजोर बनाउने गुनासो रावलले गरे।