राष्ट्रियसभा चुनाव-प्रदेश ४ बाट किरियापुत्रीले भोट हाले, मनाङे आएनन्

पोखरा, माघ २४ ।
प्रदेश ४ मा राष्ट्रियसभाको निर्वाचनमा किरियापुत्रीले पनि मतदान गरेका छन् । पर्वत, विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले बुधबारको चुनावमा भोट हालेका हुन् । उनी नेकपा एमालेबाट निर्वाचित अध्यक्ष हुन् । प्रदेश ४ मा ७ पदका लागि भएको निर्वाचनमा १० उम्मेदवार बीच प्रतिश्पर्धा थियो । चुनावअघि नै मतपरिणाम अनौपचारिक रुपमा घोषित छ । यद्यपी भोट किनमेल यहाँ पनि निकै चल्यो । श्रोतका अनुसार एउटै भोटका लागि लाखौं रुपैयाँ खर्च गरिएको छ । आजै बेलुकीसम्म मतपरिणाम सार्वजनिक हुने निर्वाचन कार्यालय पोखराले जनाएको छ । पोखराको सहिदचोकस्थित लोकसेवा आयोगको परीक्षा भवनमा बुधबार भएको मतदान मध्याह्न साढे १२ बजे नै सकिएको हो ।
निर्वाचनमा मनाङका सांसद दीपक मनाङे यसपाली पनि अनुपस्थित रहे । प्रदेश–४ बाट प्रदेश सदस्य एवं गाउँ र नगरपालिकाका प्रमुख–उपप्रमुख गरी २ सय ३० जना मतदाता भएपनि मनाङे नआएपछि २ सय २९ जनाले मतदान गरे । यो प्रदेशमा अपाङ्गता कोटाबाट यसअघि नै काँग्रेसका प्रकाश पन्थ निर्विरोध निर्वाचित भैसकेका छन् । उनका प्रतिश्पर्धी वाम गठबन्धनबाट एमालेका उम्मेदवार रामबहादुर थापाको कागजपत्र नमिलेपछि निर्वाचन आयोगले अयोग्य ठहर गर्दै उम्मेदवारी नै खारेज गरिदिएको थियो ।
प्रतिश्पर्धामा वाम गठबन्धनबाट खुलातर्फ एमालेका गणेशप्रसाद तिमिल्सिना, माओवादी केन्द्रका दीनानाथ शर्मा, महिलातर्फ एमालेकी दीपा गुरुङ, शान्ति अधिकारी र दलिततर्फ खिमकुमार बिक छन् । त्यसैगरी, कांग्रेसबाट खुलातर्फ सुरेन्द्रराज पाण्डे, महिलातर्फ विन्दादेवी रानामगर र दलिततर्फ जितबहादुर नेपाली छन् । खुलातर्फ राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारी र महिलातर्फ मीना पुन पनि उम्मेदवार छन् ।
राष्ट्रियसभामा एक प्रदेशसभा सदस्यको मतभार ४८ तथा गाउँ÷नगरपालिकाको मतभार १८ रहनेछ । एकल संक्रमणीय प्रणाली तर्फका खुला र महिला कोटामा १ हजार ४ सय ८६ मतभार पाएको उम्मेदवार बिजयी हुने मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए । निर्वाचनमा सहभागी गाउँपालिकाका प्रमुख र उपप्रमुखले भने राष्ट्रियसभाले राष्ट्रको हितका लागि काम गर्ने विश्वास व्यक्त गरे । निर्वाचित जनप्रतिनिधिहरुले दलभन्दा माथि उठेर देशको नीति–निर्माणमा सही सल्लाह र सुझाव दिन उनीहरुको आग्रह छ ।