राष्ट्रियसभामा १७ निर्विरोध, को कहाँबाट उम्मेदवार बने ?(सूचीसहित)

काठमाण्डौं, माघ ११ ।
माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ७ वटा प्रदेशमा ८३ जनाको उम्मेदवारी परेको छ । हिजो सातै प्रदेशमा रहेका निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता भएको हो । निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी प्रदेश नम्बर २ मा १७ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश १ मा कांग्रेसबाट ४, एमालेबाट ६, माओवादी केन्द्रबाट १ र राप्रपाबाट १ गरी १२ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश २ मा कांग्रेसबाट २ जना, एमाले र माओवादी केन्द्रबाट १÷१ जना, संघीय समाजवादी फोरम र राजपाबाट २÷२ जना र नेपाल संघीय समाजवादी पार्टीबाट १ गरी ९ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश ३ मा कांग्रेसबाट ४, एमालेबाट ६, माओवादी केन्द्रबाट २, राप्रपाबाट १ र नेपाल मजदुर किसान पार्टीबाट ४ गरी १७ जनाले मनोनयन दर्ता गरेका छन् । प्रदेश ४ मा कांग्रेसका ४, एमालेका ४, माओवादीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी १२ जनाको उम्मेदवारी परेको छ । यस्तै, प्रदेश ५ मा कांग्रेसले ४, एमालेले ४, माओवादीले २ र राष्ट्रिय जनमोर्चाले १ गरी ११ जनाको उम्मेदवारी दर्ता गरेको छ ।
प्रदेश ६ बाट कांग्रेसका ४, एमालेका ५, माओवादी केन्द्रका ३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै, प्रदेश ७ मा कांग्रेसका ४, एमालेका ४, माओवादी केन्द्रका २ गरी १० जनाको उम्मेदवारी दर्ता भएको छ । ५६ सिटका लागि हुने निर्वाचनमा ८३ जनाको उम्मेदवारी पर्दा वाम गठबन्धनबाट एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेदवारी दिएको छ । मधेसकेन्द्रित दलबाट राजपाले २ र संघीय समाजवादी फोरमले २ सिटका लागि उम्मेदवारी दर्ता गरेको छ । प्रत्येक प्रदेशमा कम्तीमा ३ महिलासहित ८ जना निर्वाचित हुनेछन् । ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिले ३ जना मनोनीत गर्ने प्रावधान छ, जसमा एक जना महिला अनिवार्य गरिएको छ ।
यसैबीच राष्ट्रियसभा निर्वाचन हुनुअघि नै १७ जना निर्विरोध विजयी भएका छन् । त्यस्तै, एक दलित र एक अपांगरअल्पसंख्यक समेत निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रियसभाका लागि प्रत्येक प्रदेशबाट ३ जना महिला निर्वा्चित हुनुपर्ने संवैधानिक व्यवस्था छ भने एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक निर्वाचित हुनुपर्ने प्रावधान छ । प्रदेश २ मा १ जना दलित र १ जना अपांगरअल्पसंख्यकको मात्रै उम्मेदवारी परेको छ । निर्विरोध निर्वाचित भएका उम्मेदवारहरुको विजयको औपचारिक घोषणा भने निर्वाचन आयोगले माघ १५ गते गर्नेछ ।
प्रदेश १ मा नैनकला ओझा (एमाले), बिना पोखरेल (माओवादी) र सरिता प्रसाईं (कांग्रेस) बाट निर्विरोध भएका छन् । प्रदेश २ मा शशिकला दाहाल (माओवादी), मुक्ताकुमारी यादव (कांग्रेस), प्रमिलाकुमारी यादव (संघीय समाजवादी फोरम), रामप्रित पासवान (संघीय समाजवादी फोरम) र वृशेषचन्द्र लाल (राजपा) निर्विरोध भए । प्रदेश ५ मा कोमल वली (एमाले), मीना बुढा (एमाले) र अनिता देवकोटा (कांग्रेस) तथा प्रदेश ७ मा तारादेवी भट्ट (कांग्रेस), कमला ओली (एमाले), इन्दु कडेरिया विष्ट (एमाले), बद्रीप्रसाद पाण्डे (कांग्रेस), शेरबहादुर कुँवर (एमाले) र हरिराम चौधरी (माओवादी) निर्विरोध निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ ।