राष्ट्रियसभामा हुने भाग्यमानी (पार्टीगत सूचीसहित)

काठमाण्डौैं, माघ १५ ।
राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनमा उम्मेदवारी दिएकामध्ये पाँच राजनीतिक दलका २४ उम्मेदवार निर्विरोध निर्वा्चित भएका छन् । निर्वाचन आयोगका अनुसार नेकपा (एमाले) का नौ, नेपाली काँग्रेसका ८, नेकपा (माओवादी केन्द्र) का ३ तथा संघीय समाजवादी फोरम नेपाल राष्ट्रिय जनता पार्टी नेपालका दुई दुई उम्मेदवार निर्विरोध भएका हुन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका ८२ मध्ये २४ जना निर्विरोध भएपछि बाँकी ५६ जना चुनावी प्रतिस्पर्धामा छन् ।
निर्विरोध हुने एमाले उम्मेदवारमा परशुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी, नैनकला ओझा, सुमनराज प्याकुरेल, कोमल वली, मीना बुढा, शेरबहादुर कुँवर, इन्दु कडरिया र कमलाकुमारी ओली छन्। त्यस्तै काँग्रेसका तर्फबाट उम्मेदवार भएकामध्ये रमेशजंग रायमाझी, सरिता प्रसाईं, जीतेन्द्रनारायण देव, मुक्ताकुमारी यादव, प्रकाश पन्थ, अनिता देवकोटा, बद्री पाण्डे र तारादेवी भट्ट राष्ट्रियसभा सदस्यमा निर्विरोध भएका छन् । आयोगका अनुसार माओवादी केन्द्रका तर्फबाट वीना पोखरेल, शशीकला दाहाल र हरिराम चौधरी निर्विरोध भएका छन् । फोरमका रामपुत पासवान र प्रमिला कुमारी तथा राजपाका रमेशप्रसाद यादव र वृषेशचन्द्र लाल राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।