राष्ट्रियसभामा गठबन्धनको बाँडफाँड–एमाले २९, माओवादी १४

काठमाण्डौं, माघ ३ ।
एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि संयुक्त रूपमा उम्मेदवारी दिने गरी संख्या निर्धारण गरेका छन् । सात प्रदेशबाट ५६ सदस्यका लागि हुने निर्वाचनमा दुई दलले ४३ सिट बाँडफाँड गरेका छन् भने १३ सिट साना दलका लागि साँचेको छन् । एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेदवारी दिने सहमति भएको छ । वाम गठबन्धनको ६ सदस्यीय कार्यदलले यस्तो सहमति गरेको हो ।
कार्यदलको आज बसेको बैठकपछि नेता सुवास नेम्वाङले दुई दलले ४३ सिटमा साझा उम्मेदवारी दिने र १३ सिटमा साना दलसँग सहमति गर्ने गरी प्रतिवेदन तयार पारिएको जानकारी दिए । कार्यदलले तयार पारेको प्रतिवेदन दुवै पार्टीका शीर्ष नेता सम्मिलित पार्टी उकता संयोजन समितिसमक्ष पेश गरिने भएको छ । कार्यदलको प्रतिवेदन सुझाबका रूपमा रहने कार्यदल सदस्य नेम्वाङले बताए ।
प्रतिवेदनमा उम्मेदवार चयनका लागि खुला, महिला, दलित र अल्पसंख्याक वा अपांगता भएका व्यक्तिको क्लष्टर अनुसार नै कहाँबाट कुन दलले कति उम्मेदवारी दिने भनी टुंग्याइएको नेता नेम्वाङले बताए । तर, विस्तृत विवरण भने सार्वजनिक गरेनन् । पार्टी एकताको समेत तयारीमा रहेका एमाले र माओवादी केन्द्रले यसअघि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि साझा उम्मेदवार उठाएका थिए ।