राष्ट्रपति भण्डारीको लागि गाडी किन्न भिख माग्दै युवाहरु

काठमाण्डौं, मंसिर ८ ।
केही युवाहरुले राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका छन् । जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु सम्बोधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरुले सांकेतिक विरोध स्वरुप एक रुपैयाँ भिख मागेका हुन् ।

सरकारले १८ करोड खर्च गरेर राष्ट्रपतिका लागि बुलेटफ्रुफ गाडीसहितको सवारी साधन किन्ने निर्णय गरेपछि सो निर्णयको चौतर्फी विरोध भईरहेका बेला स्वतस्फुर्त रुपमा युवाहरु भीख माग्ने कार्यक्रमा सहभागी भएका हुन् ।

शनिबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा भेला भएका युवाहरुले ‘दान गर्नुहोस् पुन्य कमाउनुहोस्’ भन्दै सर्वसाधरणसंग एक एक रुपैया भिख मागेका हुन् । १८ करोड रुपैयाँको गाडी चढ्ने नेपालीको हैसियत नभएको र राज्यको ढुकुटी रित्याएर कसैको पनि विलासिताको चाहना पुरा गराउन जनताले सरकारलाई म्याण्डेट दिन नसक्ने भन्दै युवाहरुले निर्णयको विरोध गरेका छन् ।

युवाहरुले पशुपतिबनकालि क्षेत्रमा बसेर दर्शनार्थी, बटुवा, बालबालिका बुढाबुढी सबैसँग भिख मागेका थिए । युवाहरुले संकलित रकमबाट खेलौना गाडी किनेर राष्ट्रपति कार्यालयलाई बुझाउने बताए ।