राष्ट्रपति पदका लागि मतदान जारी

काठमाडौं, फागुन २९ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मतदान जारी छ। संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा कायम गरिएको मतदान केन्द्रमा आज बिहान १० बजेदेखि मतदान सुरू भएको हो।
मुलुकमा तेस्रो पटक हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई (दुवै भोजपुरका) प्रतिष्पर्धामा छन्। राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ। आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा, राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० मतदाता कायम गरिएको छ।
राष्ट्रपति मुलुकको राष्ट्राध्यक्षका रूपमा रहने तथा पदावधि निर्वा्चित भएको मितिले पाँच वर्षको अवधि हुने संवैधानिक व्यवस्था छ। नेपालको संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने व्यवस्था छ।