रातो कितावमा काँग्रेस असन्तुष्ट, गण्डकी प्रदेशको संसद अवरुद्ध

पोखरा, असार ७ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विनियोजन विधेयक र सरकारले बनाएको रातो कितावमा असहमति जनाएपछि गण्डकी प्रदेशको संसद अवरुद्ध भएको छ । सरकारको निर्देशनमा सभामुखले बैठक नै नबसी आँफुखुशी सूचना टाँसेर बैठक स्थगीत गरेको काँग्रेसको आरोप छ । शुक्रबार पत्रकार सम्मेलन गरि सरकारप्रति काँग्रेसले असन्तुष्टी जनाएको हो ।

‘हामीले सदन अवरोध गर्ने सूचना दिएका थियौं । तर सभामुख ज्यूले पहिले नै सूचना टाँस गरेर स्थगित गरिदिनुभयो । संसदीय अभ्यासमा कहीँपनि प्रतिपक्षीले आफ्ना कुरा राख्ने सूचना दिएपछि स्थगीत गर्नु हुन्थेन,’ काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले भने, ‘यसमा हाम्रो असहमति छ । अहिले भएका सबै काम भोलिका दिनमा नजिर हुन्छ । हाउस सँधै चल्नुपर्छ । प्रतिपक्षीको भूमिका स्विकार्नुपर्छ ।’

सरकारले बजेट बक्तब्य मार्फत सार्वजनिक गरेका कार्यक्रमहरु रातो कितावमा नसमेटिएको उनको आरोप छ । ‘विनियोजन विधेयकको प्रतिक्षामा थियौं । विनियोजन विधेयकसँगै आएको रातो कितावमा हाम्रो आपत्ति छ । यो संविधान अनुरुप छैन । ब्यवहारिक रुपमा हेर्दा पनि ब्यवहारिक छैन । राजनीतिक दृष्टीले हेर्दा पनि पक्षपात पूर्ण छ,’ उनी भन्छन्, ‘सरकारले अबण्डा बजेट नराख्ने र वितरणमुखी नबनाउने प्रतिबद्धता जनाएको थियो । तर अहिले सफ्ट्वेयरको नाममा जथाभावी विनियोजन भएको छ । यो प्रदेशका लागि आवश्यक छैन । एउटै शीर्षका धेरैतिर बजेट बाँडिएको छ । यो पनि गलत पद्धती हो ।’

खासगरी सिञ्चाईका आयोजनामा नवलपुर, कास्की र तनहूँलाई बञ्चित गरिएको पोखरेलले सुनाए । अर्थमन्त्री किरण गुरुङले बजेट बक्तब्य मार्फत २ सय ४४ सतह सिञ्चाईंका आयोजना सञ्चालन गर्ने बताएका थिए । तर अहिले १ सय ८२ योजना मात्रै समेटिएको पोखरेलले बताए । यसबाहेक धेरै आयोजनाहरु रातो कितावमा नसमेटिएको उनको आरोप छ । अर्का सांसद कुमार खड्काले रातो किताव सुधार नगरे बजेट कार्यान्वयन नै नहुने टिप्पणी गरे ।

‘कानुनी सिद्धान्त विपरित छ । त्यो सुधारेर नल्याए खर्च गर्नै मिल्दैन । भएभरका पैसा सफ्ट्वेयरमा छुट्याईएको छ । जसले नतिजा हासिल हुँदैन,’ उनी भन्छन्, ‘कानुनी त्रुटी रोक्नुपर्छ । प्रतिपक्षले सरकारको कमजोरी औल्याउँछ भनेर सदन नै रोक्ने प्रबृत्ति गण्डकी प्रदेशमा भयो । यसले लोकतन्त्र माथी प्रहार गरेको छ ।’ प्रमुख सचेतक मणिभद्र शर्माले गल्ती सुधारेर रातो किताव नसच्याए निरन्तर अवरोध गर्ने चेतावनी दिए ।

अर्थमन्त्री किरण गुरुङले सफ्ट्वेयरका कारण आयोजना छुटेको स्विकारे । ‘छुटेको कुराहरु छन् । एउटा सिस्टम हुन्छ, त्यही प्रणालीमा इन्ट्री भएर किताव लक गरिन्छ । त्यसैलाई प्रिन्ट गर्दा यताउति भयो होला,’ उनले भने, ‘प्रिन्ट मिस्टेक भएको कुरा सच्चिन्छ । सिँचाईको सिंगै कार्यक्रम नै छुटेको छ । त्यसलाई थपेर ल्याउँछौं । हतार हुँदा गल्ती भयो ।’ शुक्रबारको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यक्रम थियो । त्यो भन्दा पहिले नै काँग्रेसले त्रुटी सच्याउन माग गर्दै संसद अवरुद्ध गर्ने सभामुखलाई जानकारी गराएको थियो । त्यसपछि सभामुखले सीधै आईतबारका लागि सदन स्थगीत गरिदिए ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रातो कितावमा कुनै त्रुटी नभएको बताए । ‘किताव ठीक छ । माननीयले दिएको सबै योजना पर्छन् भन्ने छैन । बजेटले समेट्न पनि सक्दैन,’ उनी भन्छन् । विपक्षीले भन्दैमा आयोजना र कार्यक्रम फेरवदल नहुने बताए । ‘राजनीतिक मुद्धामा कुनै कम्परमाईज हुन्न । प्राविधिक हिसावले अन्याय नै भएको हो भने बसेर सल्लाह गरौंला,’ उनले भने, ‘सबै क्षेत्रलाई समेटेर बजेट विनियोजन गरिएको छ ।’

File Photo