राजीनामा दिएर काँग्रेसबाट जितेका वडाध्यक्षले खाए शिक्षकको जागिर
सल्यान, मंसिर २ ।
सल्यानका एक जनप्रतिनिधिले राजीनामा दिएर शिक्षकको जागिर खाएका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बुढामगरले वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षकमा जागिर खाएका हुन् ।
बुढामगर २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका थिए । शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाअन्तर्गत मुस्ताङबाट नाम निकाल्नु सफल भएपछि उनले पदबाट राजीनामा दिएर शिक्षण पेसा रोजेका हुन् ।
‘वडाध्यक्षमा न त अधिकार देखियो न सुविधा नै, जनताको लागि केही गर्न नसकिने भएपछि पद ओगटेर मात्र के काम भनेर शिक्षण पेशा रोजे’, बुढामगरले भने, ‘अब विद्यार्थीलाई आफूसँगको ज्ञान सिकाउँछु, शैक्षिक गुणस्तर सुधारका लागि सेवा गर्न चाहान्छु ।’
बुधबार गाउँपालिकामा आएर बुढामगरले दिएको राजीनामा स्वीकृत गर्दै ज्येष्ठ वडासदस्य वीरबहादुर खड्कालाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिए ।