राजपा र फोरमले माग्यो–प्रदेशमा १३५ सीटसहित मुख्यमन्त्री

काठमाडौं, असोज २३ ।
संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) ले नेपाली कांग्रेससँग प्रदेश सभामा १३५ सिटसहित २ प्रदेशमा मुख्यमन्त्री दाबी गरेका छन् । संयुक्त रुपमा चुनावमा जाने निर्णय गरेका यी दुई दललाई कांग्रेसले मिलेर जान आग्रह गरेपछि उनीहरुले यस्तो दाबी पेश गरेका हुन् । यसका साथै यी दुई दलले प्रतिनिधि सभा निर्वाचनमा ५५ सिटको दाबी पेश गरेका छन् ।
‘प्रदेश सभामा १२०–१२५ सिट त हामी दुई दल मिलेर नै जित्छौं, २ वटा प्रदेशको मुख्यमन्त्री पनि हाम्रो सुनिश्चित जस्तै छ । त्यसैले हाम्रो दाबी अस्वाभाविक होइन’, राजपा अध्यक्ष मण्डलका एक नेता राजेन्द्र महतोले भने । त्यसैगरी प्रतिनिधि सभामा पनि दुई दल मिलेर नै ४५ सिट जित्ने उनले दाबी गरे ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फको कुल १ सय ६५ सिटमध्ये यी दुई दलले ५५ सिट दाबी गरेका हुन् । प्रदेश सभाको सिट र मुख्यमन्त्रीमा कांग्रेस सहमत भए यी दुई दल ५० सिटमा सहमति गर्न तयार छन् । त्यसबाट २ दलले २५–२५ सिट भाग लगाउनेछन् ।
त्यसैगरी प्रदेश सभाको प्रत्यक्षतर्फको ३ सय ३० मध्ये संघीय फोरम र राजपाले १ सय ३५ सिट दाबी गरेका छन् । प्रदेश सभामा पनि १ सय २० सिट दिए सहमति जुट्ने कार्यदलका राजपातर्फका एक सदस्यले जानकारी दिए ।
‘तर २ मुख्यमन्त्रीको दाबी हाम्रो बटमलाईन हुनेछ, त्यसमा कुनै सम्झौता हुँदैन,’ ती नेताले भने । फोरम र राजपाले आफूहरुबीच एक–एक बाँड्ने गरी प्रदेश–२ र प्रदेश ५ को मुख्यमन्त्रीमा दाबी गरेका छन् ।
मूल विषय नमिलिसकेकाले चुनाव चिह्न र समानुपातिक प्रतिनिधित्वबारे कार्यदलको बैठकमा सामान्य छलफल मात्र भयो । फोरम र राजपाबीच चुनावी तालमेलमा कुरा मिले सरकारबाट माओवादी केन्द्रलाई हटाएर यी दुई दललाई समेटेर चुनावमा जाने प्रस्ताव समेत कांग्रेसले अघि सारेको छ ।