राजपा नेतालाई स्वराजको आश्वासन–‘सरकार बनाओ, चिन्ता मत किजिए’

काठमाण्डौं, भाघ १९ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुसँग विहीबार साँझ करिब ४० मिनेट सामुहिक कुराकानी गरिन् । मधेसी नेतासँगको कुराकानीमा राजनीतिक विषयले भन्दा बढी मधेसको विकाससम्बन्धी प्रोजेक्टहरुमा बढी समय खपत भयो । प्रदेश नम्बर २ मा राजपा र फोरमले राम्रो चुनावी परिणाम ल्याएको भन्दै सुष्माले बधाइ दिइन् । अब फोरमसँग मिलेर अघि बढ्न र प्रदेश दुईमा आफ्नो नेतृत्वमा सरकार बनाउन उनले शुभकामना दिइन् । सरकारमा गएर आफ्नो जिम्मेवारी प्रमाणित गरेर देखाउन सुष्माले राजपा नेताहरुलाई भनिन् ।
सोल्टी होटलमा भएको भेटमा राजपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव लगायतको उपस्थिति थियो । भेटमा मधेसी नेताहरुले आफूहरु निर्वाचनमा गए पनि संविधान संशोधनको मुद्दा यथावत नै रहेको बताएका थिए । तर, यसमा भारतीय विदेशमन्त्री सुष्मा यो तपाईहरुको आन्तरिक विषय हो भन्दै पन्छिएको राजपाका एक नेताले बताए ।
भेटका क्रममा सुष्माले राजनीतिका बारेमा भन्दा पनि मधेसको विकासका एजेण्डाहरुमा छलफल गर्न खोजेकी थिइन् । नेपालको मधेसमा गरिबी र अस्थिरता रह्यो भने त्यसको असर बिहारलगायत भारतीय राज्यमा समेत पर्ने भन्दै उनले मधेसी नेताहरुलाई आर्थिक समृद्धि र विकासमा लाग्न सुझाव दिइन् । उनले अब बन्ने प्रदेश सरकारले मधेसको गरीबी हटाउनुपर्ने बताइन् । तर, मधेसमा जारी रहेका भारतीय प्रजेक्टहरु समयमा पूरा नभएको गुनासो मधेसी नेताहरुले भारतीय विदेशमन्त्रीसँग गरे । हुलाकी राजमार्ग लगायतका कुनै पनि प्रजेक्टहरु समयमा पूरा नभएको उनीहरुले गुनासो सुनाए । जवाफमा सुष्माले चुनावी जितलाई क्यास गर्दै पहिले प्रदेश २ मा सरकार बनाउन र ती आयोजनाहरु कार्यान्वयन गर्ने वातावरण बनाउन आग्रह गरिन् । उनले मधेसी राजपा नेताहरु भारतले त्यहाँको विकासमा सहयोग गर्ने वचन दिँदै भनिन्– सरकार बनाओ, चिंता मत कीजिए !