राजधानीमा मात्रै ४५ दिनमा ४२ बलात्कार

काठमाण्डौं, असोज १ ।
कञ्चनपुर काण्डले देशनै चिन्तित भएको बेला बलात्कारका घटना भने झन् बढेका छन् । निर्मलाको बलात्कार र हत्या भएयता ५२ दिनमा २२५ भन्दा बढी चेली बलात्कृत भएका छन् ।

महानगरीय प्रहरी कार्यालयका अनुसार ४५ दिनमा काठमाडौं उपत्यकामा मात्र ४२ महिलामाथि बलात्कार तथा बलात्कारका प्रयास भएको उजुरी परेको छ ।

साउन १ देखि भदौ २५ सम्म काठमाडौंमा मात्र बलात्कारका २८ घटना भएका छन् । त्यस्तै, ललितपुर र भक्तपुरमा सात सात घटना भएको छ ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भएयता ५२ दिनमा मुलुकभर २२५ भन्दा बढी चेली बलात्कृत भएको छन् । ‘दिनमा चारदेखि पाँच महिला बलात्कृत भइरहेका छन्,’ प्रहरी प्रवक्ता शैलेश थापाले भने, ‘यकिन रिपोर्ट अझै संकलन गर्दै छौं।’, यो खबर आजको नयाँ पत्रिकामा छ ।