रहेनन् शान्ति प्रक्रियाका ‘सूत्रधार’ (पढ्नुस् पूरै कहानी)

काठमाण्डौं, असोज २८ ।
कुनै बेलाका चर्चित नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएको छ । उनको रातको ९.२० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी ६ वर्षयता बिरामी भएर घरमै उपचाररत थिए ।

कांग्रेसभित्रका कुनै बेलाका बागी र किङमेकर नेता बाँस्तोलालाई ०६९ पुसमा मस्तिस्कघात भएको थियो । त्यसपछि उनलाई नयाँ दिल्लीको मेदान्त अस्पतालमा लगेर उपचार गरिएको थियो । त्यहाँ तीन महिना उपचार गर्दा पनि पूर्ववत् अवस्थामा नआएपछि उनलाई स्वदेश फर्काइएको थियो । र, काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराइयो । त्यहाँ पनि सात महिना राखियो । तर पनि उनी पूर्ववत् अवस्थामा आउन सकेनन् ।

०७० कात्तिकदेखि भने उनको उपचार घरमै हुँदै आएको थियो । घरमा पनि उनी आइसियु बेडमै आराम गरिरहेका थिए । सामान्य रुपमा खाना खान नसक्ने भएका कारण उनलाई पाइपबाट खाना खुवाइएको थियो । पत्नी कुसुमको सक्रिय रेखदेखमा बाँस्तोलाले अति कठिन दिनहरु बिताइरहेका थिए ।

बाँस्तोला बिपीको प्रेरणाले ०१७ सालबाट राजनीतिमा होमिएका थिए । र, बिपीबाटै समाजवादी दीक्षा पाएका थिए । तर, चर्चित विमान ०३० सालको विमान अपहरणको एक नाइके भएका कारण त्यसपछि भने उनी पनि चर्चित बन्न पुगे। बनारस हिन्दु विश्वविद्यालय (बिएचयु) मा राजनीतिशास्त्रका पोस्टग्र्याजुएट गरेका थिए ।

०४८ संसदीय चुनाव उनी झापाबाट उम्मेदवार भएका थिए । तर पराजित भए । त्यसपछि तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले बाँस्कोटालाई भारतका लागि राजदूत सिफारिस गरेको थियो । भारतीय अदालतमा विमान अपहरणको मुद्दा खेपिरहेका बाँस्तोलाको विषयमा सरकारले भारत सरकारलाई मनाएका कारण उनी बल्ल राजदूत बन्न सकेका थिए ।

उनी परराष्ट्रमन्त्री समेत बनेका थिए । बाँस्तोला कांग्रेसभित्रका सीमित बौद्धिक नेताहरुमा पर्थे । सिद्धान्त र दर्शनमा उनको गहिरो रुचि थियो। पार्टीको चुनावी घोषणापत्र लेखनमा बेलामा समेत उनी पहिलो रोजाइमा पर्थे । तर नेतृत्वमा छाउने बारे उनले रुचि देखाएनन् । उनी गज्जबका रणनीतिकार पनि थिए । जोखिम मोल्ने नेताको परिचय बनाएका थिए ।

युद्धरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन बाँस्तोलाले सक्रिय भूमिका खेलेका थिए । विशेषगरी बाँस्तोलाले सम्पर्क सूत्रको काम गर्दै कोइरालालाई सघाएका थिए ।