रवीन्द्रको चुनावी अभियान थालनी

पोखरा, कार्तिक २६ ।
नेकपा एमालेका नेता तथा कास्की क्षेत्र नं. २ का वाम गठबन्धनका उम्मेदवार रविन्द्र अधिकारीले जनताको समृद्धिको एजेण्डा बोक्नेले मात्रै लोकतन्त्रको रक्षा गर्नसक्ने बताएका छन् उनले अबको राजनीति अरुलाई गाली गर्नेको हैन कामबाट जनताको मन जित्नेको मात्र हुने बताएका छन् ।
प्रचार प्रसारका क्रममा आयोजित कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै नेता अधिकारीले भने “नेपालको लोकतन्त्र र मानवअधिकारको परिभाषा नै जनताको जीवनस्तर उकास्नेभन्दा जथाभावी बोल्न पाउने, हिंडडल गर्नपाउने, लेख्न पाउने र अरुलाई गाली गरेर आफू चोखिने गलत अभ्यास छ । के त्यतिले लोकतन्त्र पुग्यो त ?”
अब मुलुक र जनताको समृद्धिको एजेण्डा बोक्नेले मात्रै लोकतन्त्रको रक्षा गर्नसक्ने भन्दै अब जनताले पढ्न, लेख्न, खान, कमाउन र शान्ति सुरक्षापूर्ण समाजमा निर्धक्क हिंड्नसक्ने बनाउनुपर्ने बताए । यी सबै कुराहरु नारामा मात्र सीमित गर्नेहरु लोकतन्त्रवादी हुन नसक्ने बताए ।
अधिकारीले देशको संविधान र कानुनमा उल्लेख भएको जनताका अधिकारीहरु कार्यान्वय गर्नैपर्ने भन्दै त्यसका लागि वामपन्थी–प्रगतिशीलहरुको बहुमतको सरकार बनाउनुपर्ने माग गरे । उनले स्थायी सरकार सबैको चाहना भएका अब अस्थिरताको अन्त्य गर्नैपर्ने बताए । उनले नेपाली कांग्रेसले स्थिर सरकार दिन नसक्ने दावी गरे । सो अबसरमा कास्की क्षेत्र न ३ (क) प्रदेश सभाका उम्मेदबार कृष्ण थापा लगाएतले बोलेका थिए ।
अधिकारीले शनिबारै आफ्नो निर्बाचन क्षेत्रमा सयौं जनताको उपस्थितिमा घर घरमा साक्षात्कार समेत सुरु गरेका छन् ।