रवि लामिछानेसहित तीन जनालाई अदातल लगियो, चितवनको सुरक्षा व्यवस्था कडा

 

चितवन, साउन ३ ।

पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज(मंगलबार) जिल्ला अदालत चितवनमा पेश गरिएको गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयमा रहेका उनीहरुलाई थप अनुसन्धानका लागि म्याद थप गर्ने गरी अदालत लगिएको चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्की अहिले चितवन प्रहरीको हिरासतमा रहेका छन् । चितवनको सुरक्षा व्यवस्था भने कडा पारिएको छ ।

लामिछानेका समर्थकहरुको प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रहरीले अन्य जिल्लाबाट समेत सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा व्यवस्थालाई कडा पारेको छ । यसअघि हिजोदेखि नै लागू हुने गरि जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।

चौबिसकोठीदेखि मालपोत चोकसम्म अस्पताल, अदालत, प्रहरी कार्यालयलगायतका कार्यालयहरु रहेकाले सुरक्षा संवेदनशीलताको कारण निषेधित क्षेत्र घोषणा गरिएको प्रहरीले जनाएको छ ।

लामिछानेसहित तीन जनाको हिजो पनि बयान लिइएको थियो । उनीहरुलाई सरकारी वकिलको कार्यालय पु¥याइ बयान लिइएको हो । अदालतले थपेको पाँच दिनको हिजो अन्तिम दिन भएकाले तीनै जनाको बयान लिइएको हो । लामिछानेका समर्थकहरुले भने निषेधित क्षेत्र बाहिर बसेर प्रदर्शन गरिरहेका छन् ।

यता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले रबि लामिछानेको समर्थनमा भईरहेको प्रर्दशनमा नजान आफना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

नेकपाले एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो । विज्ञप्तिमा पत्रकार शालिकराम पुडसैनीको आत्महत्या प्रकरणमा न्यायलयको निर्णयलाई समेत प्रभावित पार्ने गरी भइरहेको प्रर्दशनलाई हुलहुज्जत, अराजक गतिविधि तथा लगाइएका नाराहरु परिवर्तन बिरोधी भएको भन्दै पार्टीले त्यस्तो निर्देशन जारी गरेको हो । (ईमेजखबरबाट साभार)