रक्सीले मातेका दुई प्रहरीले विद्युतका कर्मचारीलाई कुटे

काठमाण्डौं, पुस २३ ।
रक्सीले मातेका दुई जना सशस्त्र प्रहरीले कुटपिट गर्दा विद्युत् मर्मतको ड्युटीमा रहेका दुईजना कर्मचारी घाइते भएका छन् । सशस्त्र प्रहरी कार्यदल दरबन्दी भई गृहमन्त्रालयमा कार्यरत सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) प्रवीण राई र हवल्दार छवीन्द्र राईले नेपाल विद्युत् प्राधिकरण जोरपाटी वितरण केन्द्रको नोलाइट टोलीका दुई कर्मचारीलाई कुटेर घाइते बनाएका हुन् ।

उनीहरुको कुटाईबाट नेपाल विद्युत् प्राधिकरण जोरपाटी वितरण केन्द्रमा कार्यरत कर्मचारी सूर्यबहादुर खत्री र सुवास खड्का छन् । घाइते खत्रीको हातको बूढीऔंला भाँचिएको छ भने सुवास खड्काको मुखमा चोट लागेको छ । घाइते दुवैको अहिले अर्थोपेडिक हस्पिटलमा राखेर उपचार भइरहेको छ ।

मूलपानीको लक्ष्मीनारायण चोकमा बिग्रिएको बिजुलीको लाइन मर्मत गरेर फर्किंदै गरेका उनीहरु चढेको गाडी रोकेर मदिराले मात्तिएका सशस्त्रका असई प्रवीण राई र हवल्दार छवीन्द्र राई आक्रमण गरेका थिए । विद्युतका कर्मचारी कुटपिट गर्ने प्रहरीद्वयले भने प्राधिकरणको गाडीले ठक्कर दिएपछि विवाद भएको दाबी गरेका छन् । बौद्ध प्रहरीका डीएसपी रमेशबहादुर सिंहले आक्रमणकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।