यूवाहरुले गुरुको गुन तिर्ने दिन आएको छ : यूवा नेता थापा

 

पोखरा, कार्तिक २५ ।

नेपाली कंग्रेसका युवा नेता तथा संविधानसभा सदस्य राजु थापाले कांगे्रसको तर्फबाट उम्मेदवार बन्नुभएका खेमराज पौडेलले विपिकै पालामा पञ्चायत ढाल्नका लागि महत्वपूर्ण योगदान दिएको हुँदा नै आफ्नो पुस्ताले संविधानसभा सदस्य बन्ने स्वर्णिम अबसर प्राप्त गरेको बताएका छन् । नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ को चुनावी प्रचार–प्रसार कार्यक्रम अन्र्तगत पोखरा १७ मा सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

सो अवसरमा बोल्दै थापाले उहाँ लगायत तत्कालिन समयमा आन्दोलनमा होमिएर योगदान पु¥याउनुभएका अग्रज गुरुहरुको गुन तिर्ने जिम्मेवारी युवाको काँधमा आएको बताए । नेपाली कांग्रेसले चुनाव जित्दैमा सरकार परिवर्तन नहुने तर कडा प्रतिपक्षिको रुपमा उभिनका लागि सहयोग मिल्ने थापाले बताए ।

वर्तमान सरकारले संसदको गरिमा झुक्ने काम गरिरहेको बेलामा पौडेल जस्ता निष्ठावान नेतालाई संसदमा उभ्याउँदा संसदको गरिमा बढ्ने उनको भनाई थियो । वर्तमान सरकार काण्डै काण्डमा मुछिएको हुँदा यस पटक कास्की क्षेत्र नं २ को निर्वाचनमा जनताहरुले कांग्रेसलाई मतदान गर्न आवश्यक रहेको उनले बताए ।

वडा नं १७ को जिम्मेवारी समेत सम्हाल्नुभएका नेपाली कांग्रेस कास्कीका सभापती कृष्ण केसीले कांग्रेस गणतन्त्र, प्रजातन्त्र र सम्पूर्ण राजनैतिक पार्टीको अविभावक भएका कारण पनि यसले आफ्नो लागि मात्र सोचेर नपुग्ने भन्दैै माओवादीलाई जंगलबाट सिंहदरबार सम्मको यात्रामा ल्याउन कांग्रेसले खेलेको उल्लेखनिय भूमिका ज्वलन्त उदाहरणको रुपमा रहेको बताए ।

सभापती देवराज आचार्यले निर्वाचन क्षेत्रका जनताले कम्युनिष्टलाई जिताएर उनीहरुको परिणाम भोगिसकेका हुँदा यस पटक रुखलाई जिताउनका लागि माहोल सृजना भएको बताए । यो निर्वाचनमा जुटेर लाग्नका लागी समेत उनले सबैलाई आव्हान गर्नुभएको छ ।

त्यस्तै नेपाली कांग्रेस पर्वतका सांसद लालकाजी गुरुङ्गले पोखरा १७ मा बिभिन्न जिल्लाबाट आएर बसोबास गर्नेहरुको संख्या बढि भएकाले पनि पर्बत, स्याङ्गजा र अन्य जिल्लाका जनतालाई नेपाली कांग्रेसलाई बिजयी गराउन आव्हान गरे ।

सो कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सहसचिव रंगिला आचार्य, वडाका उपसभापती दिपेन्द्र बराल लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको संचालन सहसचिव बिनम गुरुङ्गले गरेका थिए ।

सोहि कार्यक्रममा सभापती देवराज आचार्यको संयोजकत्वमा निर्वाचन सफल बनाउनका लागि ५ सय ५१ सदस्यीय निर्वाचन उपसमिति समेत गठन गरिएको छ ।