यूवतीलाई भगाएर विहे–दुई पक्षबीच हानाहान, ८ जना घाईते

रामेछाप, कार्तिक २४ ।
जिल्लाको मन्थली नगरपालिका–७, भटौलीमा युवती भगाएर विवाह गरेको विषयमा दुई समूहबीच झडप हुँदा आठ जना घाइते भएका छन् । घाइते आठै जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी शेख अदालतले जानकारी दिए ।

घाइते हुनेहरूमा सन्तोष माझी, पूर्णवहादुर माझी, समिर माझी, मिलन माझी, सन्तोष माझी, खेमबहादुर माझी, सोममाया माझी र चन्द्रमाया माझी रहेका छन् । घाइते सबैलाई उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते मध्ये धेरैको टाउकोमा चोट लागेको छ । घटनापछि बलबहादुर माझी, चित्रे माझी, दिलीप माझी, भक्तवहादुर माझी, बमबहादुर माझी, जय माझी, सोमबहादुर माझी र विष्णु माझीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूमध्ये चार जनालाई सिन्धुलीको खाल्टेबाट पक्राउ गररिएको र चार जनालाई आफ्नै गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । स्थानीय युवतीलाई भगाएर विवाह गरेको विषयमा दुई पक्षबीच भएको विवादले उग्ररूप लिएपछि दोहोर झडप भएको स्थानीयको भनाई छ ।